विपद् प्रभावित क्षेत्रको अध्ययन तथा अनुगमनमा संसदीय विशेष समिति
म्याग्दी, ४ मङ्सिरः राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले म्याग्दी र पर्वतका विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।
समितिका सभापति कृष्णप्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा र पर्वतको जलजला गाउँपालिका–८ फर्सेलगायत प्रभावित क्षेत्रको अनुगमन गर्नुका साथै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेको हो ।
समितिका सभापति पौडेलले विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा स्थानीय तहका जनप्रतिनिधि र नागरिकसँगको छलफलबाट क्षतिको विवरण तथा प्रभावितका समस्या सङ्कलन गरिएको बताउनुभयो ।
गत मनसुनमा कालीगण्डकी र यसका सहायक नदीमा आएको बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि स्पष्ट मार्गचित्र तयार गरी सरकारलाई सुझाव दिन समिति गठन गरिएको हो ।
अनुगमनका क्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाले विपद् व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरी व्यावहारिक बनाउन, घरबारविहीनको जग्गा व्यवस्थापन गर्न तथा भूगर्भविद्को अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
समितिलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्बाट भएको क्षति, राहत तथा व्यवस्थापनका लागि हालसम्म भएका काम र भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।
राष्ट्रियसभाले विपद् प्रभावितको पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण तथा जलवायु न्यायका लागि आवश्यक मार्गचित्र सिफारिस गर्न समिति गठन गरेको हो । समितिले विपद्सम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुगमन गरी राष्ट्रियसभामा प्रतिवेदन पेस गर्ने सभापति पौडेलले बताउनुभयो ।
आगामी पुस मसान्तसम्म कार्यावधि रहेको समितिले स्थलगत अध्ययनलाई तीव्रता दिएको छ । टोलीमा राष्ट्रियसभा सदस्यहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सहभागी हुनुहुन्छ ।


