Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)

धनगढी, १३ मङ्सिर : महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुन: रोजगारीका लागि छिमेकी मुलुक भारत जान थालेका छन् ।

    कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब छ हजार नेपाली रोजगारीका लागि भारत गइरहेको सीमास्थित सशस्त्र प्रहरी बलको सीमा हेल्प डेस्कले जनाएको छ । उनीहरू चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट केही समयअघि घर फर्किएका थिए ।

    लामो समयदेखि भारतको मुम्बईमा रोजगारी गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेशबहादुर साउद केही समयअघि चाडपर्व मनाउन घर आउनुभएको थियो । अहिले उहाँ पुन:रोजगारीका लागि भारत फर्कन लाग्नुभएको छ । उहाँ मुम्बईस्थित एक होटलमा भान्सेको काम गर्नुहुन्छ ।

    नेपालमा रोजगारी पाउन कठिन हुनुका साथै काम पाए पनि त्यसबाट हुने आम्दानीले परिवारको खर्च धान्न मुस्किल पर्ने भएकाले भारत जानुपरेको साउदले बताउनुभयो ।

    सोही नाकाबाट भारत जाँदै गर्नुभएका कैलालीको गोदावरीका हरि नेपाली बडादसैँमा टीका लगाउन र परिवारसँग भेटघाट गर्न घर आएको बताउनुभयो । उहाँ अहिले रोजगारीका लागि भारतको सुरत जाँदै हुनुहुन्छ । बाजुराका नरेश बुढा पनि रोजगारीका लागि भारतको पञ्जाव् जाँदै हुनुहुन्छ ।

    सुदूरपश्चिमका नेपाली छोटो तथा लामो समयका लागि रोजगारी गर्न भारत जाने गरेका छन् । खेतीपाती हुनेहरू कृषि काम सकेर अन्नबाली भित्र्याउने समयसम्म भारतमा काम गर्छन् भने खेतीपाती नहुनेहरू लामो समयसम्म भारतमा बसेर चाडपर्वका बेला घर फर्कने र त्यसपछि पुन: काममा जाने गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाबाट रोजगारीका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागढ, नासिक र पञ्जाव्लगायत सहरमा जाने गरेका छन् । भिसा नलिई भारत जान र त्यहाँ रोजगारी पाउन सहज भएकाले पनि नेपालीहरू रोजगारीका लागि भारत जाने गरेको पाइन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan