सत्ताको 'जोड-घटाउ' र जनताको रमिता: २० नेताको घेराबन्दीमा साढे ३ करोडको भविष्य
काठमाडौँ । समय, शक्ति, सम्पत्ति, शासन र यौवन—यी पाँच चिज इतिहासको जुनसुकै कालखण्डमा पनि अस्थायी रहे। स्थायी रह्यो त केवल राज्य र लोकतन्त्र।
तर, नेपालको वेस्टमिन्स्टर प्रणाली (संसदीय व्यवस्था) भित्र भने अचेल एउटा नयाँ भाष्य जबरजस्त स्थापित हुँदै गएको छ—"जनताले भोट हालेर 'सोलिड म्यान्डेट' दिइरहने, नेताहरूले खेल मैदानमा आफ्नै जोड-घटाउ गरिरहने।"
विगतका निर्वाचनहरूमा परिवर्तनको तीव्र चाहनासहित नेपाली जनताले पुरानो र नयाँ शक्ति दुवैलाई मिलाएर एक ठोस जनमत दिएका थिए। तर, चुनाव सकिएको लामो समय बितिसक्दा पनि मुलुक एक उन्नत लोकतान्त्रिक ट्र्याकमा आउन सकेको छैन। बरु, राजनीति झन् गन्जागोल, प्रतिशोध र घेराबन्दीको नयाँ अखडा बनेको छ।
बालेनको 'घेराबन्दी' र सल्लाहकारको भूलभुलैया
कुनै समय नेपाली कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवाले तत्कालिन ओली सरकारलाई खुलुरै भने,काठमाडौँ महानगरका तत्कालिन प्रमुख बालेन शाहको बचाउ गर्दै—"डेमोक्रेसी (लोकतन्त्र) मा बोल्न पाइन्छ, बालेनलाई थुन्नु हुँदैन।"
तर, आज समय फेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री बालेन शाह अहिले आफ्नै टिमभित्रका केही "घुसपैठिया" र स्वार्थ समूहको घेराबन्दीमा परेका छन्।
काठमाडौँका मेयरको लोकप्रियतालाई सिध्याउन चौतर्फी डिजाइन भइरहेको चर्चा राजनीतिक वृत्तमा चलेकै हाे । त्यो अवस्था थियो पनि । तत्कालिन महानगर सुरक्षा प्रमुख राजु पाण्डे र सहसचिव प्रदीप परियार जस्ता निकटस्थहरूलाई मुद्दा मामिलामा फसाउने, कानुनी झमेला खडा गर्ने र बालेन शाहलाई चौतर्फी रूपमा विवादमा तान्ने खेल भइरहेको थियो ।
विज्ञको टिप्पणी: "जुन नेतृत्वले शत्रु र मित्र चिन्न सक्दैन, त्यो जतिसुकै लोकप्रिय भए पनि ढिलो-चाँडो आफ्नै सल्लाहकारहरूको गलत सूचना र स्वार्थको सिकार बन्छ। बालेनको टिममा भइरहेको भनिएको घुसपैठ र डिजाइनले अन्ततः उनकै साख गिराउने काम गरिरहेको छ।"
अहिले सामाजिक सञ्जाल र सडकमा 'युवा संघ' र अन्य शक्तिहरूको प्रवेश, गुन्डु डिजाइन जस्ता राजनीतिक तिकडमहरूले बालेनको स्वतन्त्र र स्वच्छ छविलाई धमिल्याउन खोजेको देखिन्छ। कतिपय आलोचकहरू भन्छन्—"लाखौँ घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) र पुराना पार्टीका समर्थकहरूले समेत आशा गरेर मत दिएका बालेनले अहिले सही र गलत सूचनाको भेद छुट्याउन नसक्दा आफ्नै खुट्टामा बन्चरो हान्दै छन्।"
नेपालको समकालीन राजनीतिमा देखिएको तीतो यथार्थ, दाउपेच र नेतृत्वको कार्यशैलीमाथि सर्वसाधारण र बौद्धिक वृत्तबाट उठिरहेका गम्भीर प्रश्नहरूको जवाफ कस्ले दिने ?
राहदानी (पासपोर्ट) काण्ड र रोचक खेल
नेपालको खरिद प्रक्रिया र टेन्डरहरूमा हुने आर्थिक चलखेल सधैँ चर्चाको विषय बन्ने गरेको छ। पछिल्लो समय राहदानी (पासपोर्ट) खरिद प्रकरणमा पुरानो कम्पनीलाई नै पुनः ठेक्का दिने सल्लाहकारहरूको 'बुद्धि' माथि गम्भीर प्रश्न उठेको छ।
अर्कोतर्फ, डा. आरजु राणाको पालामा ५.७५ डलरमा टेन्डर लगाएको प्रसङ्गलाई लिएर राजनीतिक बजारमा रोचक घोचपेच सुरु भएको छ। ११.७५ र ५.७५ को यो सामान्य अङ्क गणित पनि जोड्न नजान्ने सल्लाहकारहरूले कसरी सरकार र प्रमुखहरूलाई चलाइरहेका छन्? यो आम नागरिकका लागि ठुलो कौतुहलताको विषय बनेको छ।
व्यङ्ग्य र यथार्थ: सरकारलाई कसैलाई पक्राउ गरेर आफ्नो रहर पूरा गर्नु छ भने सिधै प्रहरी पठाएर समाते पुग्छ, तर यहाँ मुद्दाको खेती मात्र गर्ने र परिणाम ननिकाल्ने परिपाटी हाबी छ।
३ करोड जनता, एक दर्जन पार्टी र २० जना 'अति व्यस्त' खेलाडी
नेपालले अपनाएको वेस्टमिन्स्टर प्रणालीको सबैभन्दा ठुलो विडम्बना नै यही हो कि साढे ३ करोड जनताको भविष्य घुमिफिरी केवल एक दर्जन पार्टीका करिब २० जना शीर्ष नेताहरूको हातमा कैद भएको छ।
सबैभन्दा अचम्मको कुरा त के छ भने, यी २० जना नेताहरू दिनभरि नै 'अति व्यस्त' देखिन्छन्। तर उनीहरू राष्ट्र निर्माणको काममा व्यस्त छन् कि आफ्नै सत्ता टिकाउने र विरोधीलाई सिध्याउने जोड-घटाउमा? यसको अध्ययन कुनै स्वतन्त्र संस्थाले गर्नुपर्ने बेला आएको छ।
३५ वर्ष अघिको राजनीतिक गुणस्तर र अहिलेको राजनीतिमा जनताले कुनै तात्त्विक फरक महसुस गर्न सकेका छैनन्। वर्तमान संविधान र यही प्रणालीभित्र बसेर ती २० जना नेताहरूले कहिले मुलुकलाई द्रुत आर्थिक समृद्धिको बाटोमा लैजालान भनेर जनताले अझै कति वर्ष धैर्य गर्ने?
विगतको ऐना र वर्तमानको चेत
इतिहास साक्षी छ, कुनै दिन शेरबहादुर देउवालाई 'सुदूरपश्चिमका शेर' भनिन्थ्यो। २५-३० वर्षको उमेरमा जिन्स पेन्ट र सर्ट लगाएर जोसका साथ भाषण गर्ने उनको पुराना तस्बिरहरू हेर्दा लाग्छ—समय र उमेर कसैका लागि पर्खिदैन।
पद, रूप, सम्पत्ति र उमेर सधैँ साथमा रहँदैनन्। देउवा फेरि नेपाल आउँदा प्रजातान्त्रिक हिसाबले शक्ति प्रदर्शन गर्ने व्यापक तयारी हुनुले पनि देखाउँछ कि यहाँ प्रणाली भन्दा व्यक्तिको शक्ति प्रदर्शनलाई बढी महत्त्व दिइन्छ।
त्यसैले, वर्तमान नेतृत्व (चाहे बालेन हुन् या अन्य नयाँ/पुराना नेताहरू) ले आत्तिने र मात्तिने नगरिकन, होसपूर्वक र न्यायपूर्ण ढङ्गले शासन चलाउनु नै उत्तम हुन्छ।
घेराबन्दी र षड्यन्त्रको राजनीतिले क्षणिक फाइदा त देला, तर इतिहासमा नाम भने सधैँ 'रमिता हेर्ने' हरूकै सूचीमा दर्ता हुनेछ।
यो पनि पढ्नुहोस् ।
३० वर्षदेखि अदालतको ‘टाङ अड्याइँ’: न्याय कि राजनीतिक घोचपेच ?
