विश्व आदिवासी दिवस मनाइँदै
काठमाडौँ, २१ साउनः नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले यही साउन २४ गते ३२औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।
महासङ्घले आज पत्रकार सम्मेलन गरेर ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकताः पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धतता’ अन्तरराष्ट्रिय नारा र ‘आदिवासी सुडेनीहरुको सुरक्षित जीवन र र कल्याणको रक्षा’ राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको जानकारी दिएको हो । यो दिवसलाई आदिवासी जनजातिको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, पहिचान र अधिकारप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा मनाइँदै आएको छ ।
महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मोले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन तथा संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिन यस वर्षका कार्यक्रम केन्द्रित हुने बताउनुभयो । यही साउन २४ गते काठमाडौँको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजातिका मौलिक वेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकीसहित ¥याली सुरु भई टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने महासङ्घले जनाएको छ ।
कार्यक्रममा नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ । साथै परम्परागत खाद्य संस्कृति, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक सम्पदाको प्रदर्शनीसमेत आयोजना गरिने महासङ्घका महासचिव विमल सारु मगरले जानकारी दिनुभयो ।
दिवसका अवसरमा आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत विभिन्न संस्थाको आयोजनामा आदिवासी अधिकार, भाषा, संस्कृति, समावेशी विकास र नीतिनिर्माणसम्बन्धी विषयमा विज्ञसहितको छलफल, रक्तदान, वृक्षरोपण, युवा तथा महिला सम्मेलन, पुस्तक तथा फोटो प्रदर्शनीलगायत साताव्यापी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
