Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हेलिकप्टरबाट उपकरण ढुवानी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ साउनः हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । 
    
बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएपछि नेपाल टेलिकमले उपकरण जडानमा सक्रियता देखाएको हो ।

सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित जडानस्थल र सडक सञ्जालको अवस्थाबारे समेत छलफल गर्नुभएको थियो ।

भौगोलिक कठिनाइका कारण सडकमार्फत उपकरण तथा सामग्री पुर्याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको थियो ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको जानकारी दिनुभयो ।

सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट गर्न सकिने आर्थिक र अन्य सहयोगका विषयमा बडीमालिका तथा त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको बताइन्छ । जडानस्थलमा आवश्यक सामग्री पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण केही समय थप लाग्ने भएको बुझिन्छ ।

सरकारले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । दुर्गम भूगोलमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको योजनाअनुसार बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमले जनाएको छ ।

यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको काम अघि बढिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लहान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan