Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ साउनः राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले ग्यासको आयात र बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझाव दिनुभयो । 

नेपाली कांग्रेसका कमलादेवी पन्तले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको सरकारको दाबी भए पनि जनताले सहजै ग्यास पाउन नसकेको जनाउँदै ग्यासको आपूर्ति र बिक्रीवितरण सम्बन्धमा सभालाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले ग्यासको अभावबाट जनताले ठूलो कष्ट व्यहोरिरहेको उल्लेख गर्दै उक्त समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरबहादुर विष्टले ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन सुझाव दिँदै जनताका समस्या समाधानमा गम्भीर बन्न आग्रह गर्नुभयो । 

कांग्रेसका युवराज शर्माले एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गरी ग्यासको बिक्री वितरण व्यवस्थित र पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

सोही पार्टीका नारायणदत्त मिश्रले सुनसरीको देवागञ्जमा दुई समुदायबीच भएको विवादसम्बन्धी घटनाको न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभयो । 

नेकपाका भुवनबहादुर सुनारले खाना पकाउने ग्यास अभावसम्बन्धी समस्याको दीर्घकालीन व्यवस्थापन, महँगी नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारलाई सुझाव दिनुभयो । सोही पार्टीका मदनकुमारी शाह (गरिमा)ले निर्वाचनको समयमा जनतासामु व्यक्त वाचा पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 
    
जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिदले सिरहाको गोलबजारमा केही दिनअघिको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान र आस्थाका केन्द्रमाथि आगजनी र तोडफोड भएका चिन्ता व्यक्त गर्दै आगामी दिन त्यस्ता घटना नदोहोरिने गरी पहलकदमी लिन सरकारलाई सुझाव दिनुभयो । 
    
नेकपाका राजेन्द्रलक्ष्मी गैरेले उपचार खर्चको अभावमा नागरिकले ज्यान फाल्नुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य सेवा प्रणालीलाई भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सुरेशकुमार आलेमगरले सुकुमवासी र भूमिहीन समस्याको दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan