Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३१ आइतबार | (रासस)

कैलाली, ३१ साउनः कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु पाँच करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ । 

कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिनुभयो ।

प्रमुख पन्तका अनुसार बाख्रा, भैँसी, बङ्गुर र मत्स्यपालनतर्फका फार्म, समूह तथा सहकारीमार्फत अनुदान दिइएको हो । कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई रु ४० लाख, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई रु ४० लाख, गौरीगङ्गा नगरपालिकाका २२ बाख्रा फार्मलाई रु ४० लाख तथा सोही नगरपालिकाका थप २० बाख्रा फार्मलाई रु ४० लाख अनुदान उपलब्ध दिइएको छ ।

त्यसैगरी, घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई रु ४० लाख, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई रु ५० लाख, टीकापुर नगरपालिकाका सात भैँसी फार्मलाई रु ५० लाख, जानकी गाउँपालिकाका तीन भैँसी फार्मलाई रु ४० लाख, भजनी नगरपालिकाका चार भैँसी फार्मलाई रु ४० लाख र धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई रु ५० लाख अनुदान दिइएको छ ।

बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई रु ४० लाख, जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मलाई रु ४० लाख तथा कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई रु ४० लाख अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

‘एक स्थानीय तह दुई उत्पादन’ अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने प्रमुख पन्तले बताउनुभयो ।

यसैगरी, कार्यालयले एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले बाख्रा तथा बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप रु एक लाख ७८ हजारका दरले अनुदान उपलब्ध गराएको छ ।

सामुदायिक पशु व्यवस्थापनअन्तर्गत कैलालीका तीन गौशालाको थप व्यवस्थापनका लागि रु नौ लाख ५० हजार उपलब्ध गराइएको छ । साथै, हलगोरु तथा राँगा पाल्दै आएका जिल्लाका ५५१ किसानलाई प्रतिकिसान रु दुई हजार ७०० का दरले रु १४ लाख ८७ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यसबाट स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसायको विस्तारसँगै उत्पादन र किसानको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan