Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युएईले इरानसँग कारोबार रोक्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस-एएफपी)

दुबई, ३ भदौ : संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाएपछि तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नभएसम्मका लागि रोक्ने घोषणा गरेको छ ।

पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको युएईमा पुनः सुरक्षा तनाव बढेपछि अबु धाबीले इरानविरुद्ध यस्तो कडा कदम चालेको हो ।

युएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताउनुभयो ।

अबु धाबीले पछिल्ला केही सातामा इरानले समुद्रमा आफ्ना ट्याङ्करहरूलाई पटक–पटक निशाना बनाएको आरोप लगाउँदै आएको छ ।

युएईको पछिल्लो निर्णय दुई देशबीचको लामो समयदेखिको व्यापारिक तथा सामाजिक सम्बन्धका बीच आएको हो । युएईमा ठूलो इरानी समुदायको बसोबास छ र युद्धअघि अमेरिकी प्रतिबन्धमा रहेको इरानका लागि युएई प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो ।

समुद्री तटीय समुदाय, व्यापारिक मार्ग र पारिवारिक सम्बन्धका कारण दुई देशबीच शताब्दीयौँ पुरानो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धसमेत रहँदै आएको छ ।

मङ्गलबारको घोषणा इरानविरुद्ध युएईले चालेको पछिल्लो कदम हो । द्वन्द्व सुरु भएपछि युएईले आफ्ना राजदूत फिर्ता बोलाउनुका साथै इरानसँग सम्बन्धित केही विद्यालय र अस्पताल बन्द गरेको थियो ।

मार्चमा युद्ध चर्किएका बेला दुबईस्थित इरानी राज्यसँग सम्बन्धित अस्पताल बन्द गर्न अधिकारीहरूले आदेश दिएका थिए । विद्यालय तथा सामुदायिक केन्द्र पनि बन्द गरिएका थिए ।

त्यसबेला युएईका एक अधिकारीले इरानी सरकार र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) सँग प्रत्यक्ष सम्बन्ध भएका तथा युएईको कानून उल्लङ्घन गरेको पाइएका केही संस्थालाई लक्षित उपायअन्तर्गत बन्द गरिएको बताएका थिए ।

यसैबीच, अबु धाबीले मङ्गलबार इरानले युएईतर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । युएईका अनुसार मेयता देशतर्फ लक्षित भएको यो पहिलो क्षेप्यास्त्र आक्रमण हो ।

पछि युएईले ती क्षेप्यास्त्र समुद्री क्षेत्रमा रहेका जहाज वा समुद्री नेभिगेसनलाई लक्षित गरिएको जनाएको थियो । तर तेहरानले युएईतर्फ क्षेप्यास्त्र प्रहार गरेको आरोप अस्वीकार गरेको छ ।

युएईको हवाई सुरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाएको र तीमध्ये एउटा आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर तथा अर्को क्षेत्रीय जलक्षेत्रभित्र खसेको युएई मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनाएको छ । त्यसपछि जारी अर्को विज्ञप्तिमा क्षेप्यास्त्र समुद्री नेभिगेसनलाई लक्षित गर्दै समुद्रमा खसेको उल्लेख गरिएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले युएईले इरानमाथि लगाएको क्षेप्यास्त्र प्रहारको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्नुभयो । उहाँले यस्तो दाबीले क्षेत्रीय विश्वास र सुरक्षा कायम गर्ने प्रयासमा नकारात्मक असर पार्ने बताउनुभयो ।

युएईको पहिलो आधिकारिक बयान आउनुभन्दा करिब दुई घन्टा अघि त्यहाँका बासिन्दालाई मोबाइल फोनमार्फत ‘सम्भावित क्षेप्यास्त्र खतरा’ बारे चेतावनी दिइएको थियो ।

जुनमा जारी भएको गलत चेतावनी र जुलाईमा आक्रमणको सम्भावनासम्बन्धी सूचनापछि यो पहिलो यस्तो चेतावनी थियो । यद्यपि त्यसपटक क्षेप्यास्त्र युएईको भूभागमा प्रवेश गरेको थिएन । त्यसअघि पछिल्लो क्षेप्यास्त्र चेतावनी मेको सुरुआतमा जारी गरिएको थियो ।

यद्यपि पछिल्ला केही सातामा युएईको सरकारी स्वामित्वको तेल कम्पनी एडनोकसँग सम्बन्धित ट्याङ्करहरूलाई समुद्रमा पटक–पटक निशाना बनाइएको अबु धाबीले आरोप लगाउँदै आएको छ । समुद्री मार्ग र ऊर्जा पूर्वाधारसँग सम्बन्धित यस्ता घटनाले युएईको सुरक्षा चिन्ता बढाएको छ ।

मध्यपूर्वमा युद्ध सुरु हुँदा युएईले इरानी आक्रमणको ठूलो दबाब सामना गरेको थियो । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता करिब तीन हजार क्षेप्यास्त्र तथा ड्रोन युएईतर्फ लक्षित गरिएको बताइएको छ । यो क्षेत्रका अन्य मुलुकको तुलनामा बढी थियो ।

तर जुनमा इरान र अमेरिकाबीच समझदारी ज्ञापनपत्र कार्यान्वयनमा आएपछि युएईले अन्य खाडी मुलुकको तुलनामा प्रत्यक्ष आक्रमणको खबर कमै मात्र सामना गरेको थियो । उक्त समझदारी पछि भत्किए पनि युएईमा लामो समयसम्म तुलनात्मक शान्ति कायम रहेको थियो ।

इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने पछिल्लो निर्णयले भने दुई देशबीचको व्यापारिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने भएको छ । साथै, समुद्री सुरक्षा र क्षेत्रीय तनाव थप बढ्ने चिन्ता पनि उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan