Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस-एएफपी)

टोकियो, ५ भदौ  : जापानले आफ्नो देशले ‘उत्तरी क्षेत्र’ भनेर दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसले क्षेप्यास्त्र परीक्षण गर्ने जानकारी दिएपछि मस्कोसँग विरोध जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उक्त क्षेत्रको भ्रमणपछि क्षेप्यास्त्र परीक्षणको विषय सार्वजनिक भएको हो ।

जापानी सरकारका प्रवक्ताले शुक्रबार रुसको क्षेप्यास्त्र परीक्षण योजनाप्रति विरोध जनाइएको बताउनुभएको छ । जापान र रुसबीच कुरिल टापुहरूको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ ।

जापानी समाचार संस्था क्योदोले रुसी प्यासिफिक फ्लीटलाई उद्धृत गर्दै परीक्षण भइसकेको जनाएको छ । बास्टियन सतहदेखि जहाजमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीले सुसज्जित रुसी नौसैनिक एकाइले परीक्षण गरेको बताइएको छ । परीक्षणमा निर्देशित क्षेप्यास्त्र क्रुजर ‘वर्याग’ र आणविक शक्तिबाट चल्ने पनडुब्बी ‘ओम्स्क’ समेत सहभागी भएको जनाइएको छ ।

क्योदोका अनुसार अभ्यासमा शत्रु जहाजमाथि आक्रमणको अभ्यास गरिएको थियो र कम्तीमा ३०० किलोमिटर दूरीका सबै लक्षित लक्ष्यमा क्षेप्यास्त्र प्रहार सफल भएको थियो । परीक्षणको वास्तविक मिति भने स्पष्ट पारिएको छैन ।

राष्ट्रपति पुटिनले अगस्ट १३ मा सन् १९४५ पछि रुसको नियन्त्रणमा रहेका विवादित कुरिल टापुहरूको पहिलो आधिकारिक भ्रमण गर्नुभएको थियो । त्यसपछि जापानले रुसी राजदूतलाई बोलाएर विरोध जनाएको थियो भने मस्कोले पनि त्यसको जवाफ दिएको थियो ।

पुटिन रुसी नौसेनाको सैन्य अभ्यास भइरहेको सखालिन टापुको भ्रमणपछि कुरिल क्षेत्र पुग्नुभएको थियो । पछिल्लो क्षेप्यास्त्र परीक्षणले जापान–रुसबीच टापुहरूको स्वामित्वलाई लिएर रहँदै आएको तनाव थप बढाउने सङ्केत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan