केन्यामा रहस्यमय रोगले हात्ती मर्न थालेपछि चिन्ता
किमाना (केन्या), ५ भदौ : दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा हात्ती मरेपछि वन्यजन्तु संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् । अधिकांश हात्तीमा आंशिक पक्षाघातसहित समान लक्षण देखिए पनि मृत्युको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन ।
किमाना क्षेत्रमा मङ्गलबार ११ वर्षीय भाले हात्ती ‘चङ्गेज खान’ पनि बिरामी अवस्थामा भेटिएको थियो । उठ्न नसक्ने र सास फेर्न कठिनाइ भइरहेको अवस्थामा पशुचिकित्सकले ग्लुकोजको इन्जेक्सन दिए पनि उसको मृत्यु भयो ।
केन्या वन्यजन्तु सेवा (केडब्लुएस) ले जुलाईको अन्त्यमा हात्तीका शवमा साइनाइडको उच्च मात्रा भेटिएको जनाएको थियो । त्यसका आधारमा नजिकका खेतमा प्रयोग हुने कीटनाशकबाट विषाक्तता भएको हुन सक्ने आशङ्का गरिएको थियो । तर स्थानीय अधिकारी र वन्यजन्तु विशेषज्ञले यसमा प्रश्न उठाएका छन् ।
उनीहरूका अनुसार विषाक्तता भएको भए हात्तीका शव खाने गिद्ध, हाइना र अन्य सफाइकर्ता जनावरमा पनि असर देखिनुपर्ने थियो । काजियाडो काउन्टीका अम्बोसेली इकोसिस्टम व्यवस्थापक जोएल न्यिकाले अन्य जनावर नमरेकाले रासायनिक विषाक्तताको सम्भावना कम रहेको बताउनुभयो । स्थानीय मासाई किसानले पनि विषाक्तताको सम्भावना अस्वीकार गरेका छन् ।
अगस्ट ७ मा केडब्लुएसले हालसम्मका निष्कर्षले सङ्क्रामक रोगको सङ्केत नगरेको र पर्यटकले भ्रमण जारी राख्न सक्ने जनाएको थियो । तर किमाना रिजर्भमा एएफपीका पत्रकारले एकै दिनमा छवटा हात्तीका शव देखेका थिए । केही शव नयाँ थिए भने केही पुराना थिए र ती हात्तीमा पनि आंशिक पक्षाघात देखिएको रेन्जर्सले बताएका छन् ।
संरक्षणकर्मी तथा वाइल्डलाइफ डाइरेक्टकी प्रमुख पाउला काहुम्बुले कीटनाशक विषाक्तताको सिद्धान्तलाई समर्थन गर्ने पर्याप्त प्रमाण नरहेको बताउनुभयो । केही वयस्क भाले हात्तीसमेत मरेको उहाँले उल्लेख गर्नुभयो ।
ओल्गुलुलुई सामुदायिक भूमि सञ्चालन प्रमुख प्याट्रिक पापातितीले दोषारोपणभन्दा मृत्युको वास्तविक कारण पत्ता लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मृत्युको सङ्ख्या सार्वजनिक तथ्याङ्कभन्दा बढी हुन सक्ने र छिमेकी तान्जानियाका हात्तीमा समेत प्रभाव परेको हुन सक्ने आशङ्का गर्नुभयो । “यसलाई रोक्नुअघि अझै कति हात्ती मर्नुपर्ने हो ?”, उहाँले प्रश्न गर्नुभयो ।
