प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट्ने बताएको केही घण्टामा नै उत्तर कोरियाले बिहीबार छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले दावी गरेको छ ।
आणविक हतियारसम्पन्न उत्तर कोरियाको यो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेको वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ सैन्य अभ्यासका बेला भएको हो । यस पटक राष्ट्रपति ट्रम्पको आदेशअनुसार यो अभ्यास संक्षिप्तरूपमा गरिएको छ ।
उत्तर कोरियाले सधैँ यस्ता संयुक्त अभ्यासलाई आक्रमणको पूर्वाभ्यास भन्दै आएको छ र प्रायः यस्तै बेला क्षेप्यास्त्र परीक्षण गर्ने गर्छ ।
आफ्नो पहिलो कार्यकालमा नेता किमसँग बनेको सम्बन्ध फेरि जोड्न खोज्दै अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भन्नुभयो, “म यस वर्ष किमसँग भेट्ने योजनामा छु।”
उहाँले किमसँग राम्रो सम्बन्ध राख्नु महत्त्वपूर्ण भएको पनि बताउनुभयो । उहाँले थप्नुभयो, “उत्तर कोरियासँग अहिले ५७ वटा शक्तिशाली आणविक हतियार छन् भन्ने हाम्रो बुझाइ छ । सियोलको अनुमानमा यो सङ्ख्या अझ बढी अर्थात् ८० देखि १२० वटासम्म हुन सक्ने उल्लेख छ।”
ट्रम्पको यो भनाइ आएको केही घण्टामै उत्तर कोरियाले साँझ करिब ५ बजे प्योङयाङ वरपरबाट पूर्वी समुन्द्रतर्फ १० भन्दा बढी छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । यी क्षेप्यास्त्रहरू करिब ३०० किलोमिटर उडेको दक्षिण कोरियाली सेनाले जनाएको छ। अहिले दक्षिण कोरिया र अमेरिका दुवैले यसको विस्तृत विश्लेषण गरिरहेका छन् ।
प्रक्षेपणपछि दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले आपतकालीन सुरक्षा बैठक बोलाएको थियो । सियोलले यसलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भन्दै निन्दा गरेको छ र सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।
राष्ट्रपति ट्रम्पले अचानक नेता किमलाई फेरि प्राथमिकता दिन थालेको र संयुक्त सैन्य अभ्यास घटाएको कुराले एसियाली सहयोगीहरूलाई चिन्तित बनाएको छ । साथै इरानसँगको युद्ध रोकिएको बेला उहाँले विदेश नीतिमा कुनै सफलता खोजिरहेको हो कि भन्ने अनुमान पनि चल्न थालेको छ ।
नेता किमकी बहिनी किम यो जोङले बुधबार भन्नुभयो, “उहाँका दाजु (नेता किम) लाई ट्रम्पसँगका राम्रा सम्झना छन् र दुई नेताबीचको सम्बन्ध अझै उत्कृष्ट नै छ । तर अहिले दुईजनाबीच कुनै प्रत्यक्ष सञ्चार भइरहेको मलाई थाहा छैन।”
यो भनाइ आएको केही घण्टाअघि मात्र सियोलले ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यास शुक्रबार नै सकिने घोषणा गरेको थियो । यो अभ्यास ‘अमेरिकी पक्षको सुझावअनुसार’ योजनाभन्दा करिब एक साता अघि नै टुङ्ग्याइएको हो । पेन्टागनले भनेको छ, “अभ्यास छोटो बनाए पनि अमेरिकी प्रशिक्षणको उद्देश्यमा कुनै असर पर्दैन।”
यी अभ्यास उत्तर कोरियाको सम्भावित आक्रमणका लागि तयारी गर्न गरिने गर्छन्। अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक राखेको छ, जुन सन् १९५०–५३ को कोरियाली युद्धपछिको अवस्था हो । त्यो युद्ध शान्ति सन्धिबिना नै युद्धविराममा सकिएको थियो ।
दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु–ब्याकले भन्नुभयो, “सियोलले उत्तर कोरियालाई आधिकारिक रूपमा आणविक हतियार भएको राज्यका रूपमा मान्यता दिन अस्वीकार गर्छ । वासिङ्टनले आणविक निरस्त्रीकरणको लक्ष्य छाडेको हो कि भन्ने प्रश्नमा उहाँले त्यस्तो नभएको विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति ली जे म्युङले सधैँ घरेलु रक्षा क्षमता बलियो बनाएर अमेरिकी निर्भरता घटाउनुपर्ने कुरा गर्दै आउनुभएको छ । उहाँले बुधबार भन्नुभयो, “।ाष्ट्रपति ट्रम्पको उत्तर कोरियासँगको शान्ति प्रयासलाई सहयोग गर्न सियोल र यहाँको राष्ट्रप्रमुखका हैसियतले मैले पूरा प्रयास गर्नेछु ।
