Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इबोला प्रकोपले ग्रस्त कङ्गोलाई ७० हजार मात्रा ‘एर्भेबो’ खोप प्राप्तः डब्ल्यूएचओ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस/एएफपी)

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीबार जनाएको छ कि इबोला प्रकोपले प्रभावित प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई ७० हजार मात्रा ‘एर्भेबो’ खोप दिइने भएको छ । यो खोप इबोलाको ‘जायर स्ट्रेन’बाट बचाउन सावित भएको छ, तर अहिले देशमा फैलिएको ‘बुन्डिबुग्यो स्ट्रेन’का लागि होइन।

अन्तर्राष्ट्रिय खोप समन्वय समूहले यी खोपका मात्राहरू परीक्षण र सीमित प्रयोगका लागि उपलब्ध गराएको हो। डब्ल्यूएचओको विज्ञप्तिअनुसार यो खोप ‘जायर स्ट्रेन’विरुद्ध सुरक्षित र प्रभावकारी प्रमाणित भइसकेको छ।

कङ्गो सरकारको गत साताको अनुरोधपछि यो निर्णय भएको हो। पछिल्लो तीन महिनामा देशमा पाँच हजारभन्दा बढी इबोलाका बिरामी भेटिएका छन् र दुई हजार ३०० बढीको मृत्यु भइसकेको छ । यो कङ्गोको इतिहासकै सबैभन्दा घातक प्रकोप हो।

डब्ल्यूएचओले सोमबार नै कङ्गोलाई ‘तुरुन्त’ खोप उपलब्ध गराउने जानकारी गराएको थियो।

“यसमा २० हजार मात्रा ‘बुन्डिबुग्यो’ भाइरसमा खोपको प्रभाव बुझ्न तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि र ५० हजार मात्रा अग्रङ्क्तिमा रहने स्वयंसेवक र स्वास्थ्यकर्मीका लागि प्रयोग हुनेछन्,” संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यमामिला निकाय डब्ल्यूएचओले जनाएको छ। यी प्रयोगहरू डब्ल्यूएचओको खोपसम्बन्धी विशेषज्ञ समूह (सेज) को हालको सिफारिसअनुसार नै भएका हुन्।

मे १५ मा घोषणा गरिएको यो कङ्गोको १७औँ इबोला प्रकोप हो। वास्तवमा यो घोषणा हुनुअघि नै केही हप्तादेखि फैलिएको थियो भन्ने विश्वास गरिन्छ।

यो प्रकोप राज्यको उपस्थिति कमजोर रहेको उत्तर र पूर्वी क्षेत्रमा फैलिएको छ । त्यहाँ स्वास्थ्य सेवाको अवस्था कमजोर छ र दशकौँदेखि विभिन्न सशस्त्र समूह सक्रिय छन्।

इबोला शरीरको तरल पदार्थको सम्पर्कबाट सर्छ र यसले रक्तस्रावी ज्वरो निम्त्याउँछ। विगत ५० वर्षमा अफ्रिकामा यसले १५ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ।

अहिले फैलिएको ‘बुन्डिबुग्यो स्ट्रेन’का लागि कुनै स्वीकृत खोप वा विशेष उपचार छैन।

यस महिनाको सुरुमा डब्ल्यूएचओका खोप विशेषज्ञहरूले ‘एर्भेबो’ खोपको पूर्ण मानव परीक्षण गर्न सिफारिस गरेका थिए। यो हालसम्म स्वीकृत एकमात्र इबोला खोप हो र यसले ‘बुन्डिबुग्यो स्ट्रेन’विरुद्ध पनि कुनै सुरक्षा दिन्छ कि दिँदैन भन्ने कुरा जाँच गर्नु उद्देश्य रहेको छ ।

‘एर्भेबो’ खोप ‘जायर स्ट्रेन’विरुद्ध सुरक्षित र सफल साबित भइसकेको छ। विज्ञहरूका अनुसार जनावरमा गरिएका प्रारम्भिक परीक्षणबाट यसले ‘बुन्डिबुग्यो’विरुद्ध पनि केही सुरक्षा दिन सक्ने सङ्केत देखिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan