Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | रासस

 भोजपुर, १० भदौः कोशी प्रदेशमा उत्पादन हुने कृषि तथा अन्य स्थानीय वस्तुको निर्यात प्रवद्र्धनका लागि प्रदेश योजना आयोगले छलफल तथा सुझाव सङ्कलन थालेको छ । आयोगले भोजपुरमा कृषि उपजको उत्पादन, बजार विस्तार, गुणस्तर सुधार, बजारीकरण तथा व्यापार सहजीकरणका विषयमा सरोकारवालासँग समूहगत छलफल गरेको हो ।

    जिल्लाको कृषि क्षेत्रको सम्भावना पहिचान गरी आगामी योजना तथा कार्यक्रम निर्माणका लागि आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, वन, कृषि, घरेलु तथा साना उद्योगका प्रतिनिधि, उद्योगी, व्यापारी तथा किसानको सहभागिता थियो ।

    छलफलमा भोजपुरमा उत्पादन भइरहेका कृषि उपजको वर्तमान अवस्था, उत्पादन वृद्धि गर्ने सम्भावना, व्यापार सहजीकरण र स्थानीय उत्पादनलाई स्वदेशी तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने विषयमा सहभागीले आफ्ना सुझाव दिएका थिए ।

    कृषि उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउन उत्पादनको ‘ब्रान्डिङ’, उत्पादन ‘क्लस्टर’ निर्माण, आवश्यक पूर्वाधार विकास, कृषि तथा प्रशोधनमा आधारित उद्योग स्थापना, वित्तीय पहुँच विस्तार र अन्तरराष्ट्रिय साझेदारीका विषयमा सुझाइएको थियो । 

    कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले कोशी प्रदेशका १४ वटै जिल्लामा स्थानीयस्तरका आवश्यकता, सम्भावना र सरोकारवालाका सुझाव सङ्कलन कार्य भइरहेको बताउनुभयो । स्थानीय तह, किसान, उद्योगी, व्यापारी तथा सम्बन्धित सरकारी निकायबाट प्राप्त सुझावलाई प्रदेशको भावी नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोग गरिने उहाँले जानकारी दिनुभयो ।

    “कोशी प्रदेशमा रहेका प्राकृतिक स्रोत र उत्पादनका सम्भावनाको खोजी गरिरहेका छौँ”, उपाध्यक्ष निरौलाले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने वस्तुको सम्भावना पहिचान गरी उत्पादन, प्रशोधन, बजारीकरण र निर्यातसम्म जोड्ने गरी आगामी योजना निर्माणमा प्राप्त सुझावलाई समेटिनेछ ।”

    टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी कृषि तथा जिल्लामा रहेका सम्भावनायुक्त क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । स्थानीयस्तरमा उत्पादनको सम्भावना भए पनि बजार, पूर्वाधार, प्रशोधन र प्रविधिको अभावका कारण अपेक्षित लाभ लिन नसकिएको उहाँको भनाइ छ ।

    भोजपुरको कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यावसायिक तथा निर्यातमुखी बनाउँदै स्थानीय उत्पादनको पहिचान र छुट्टै ब्रान्ड निर्माण गर्न सके यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने सहभागीको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan