नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।
प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्।
मोदीले नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको समेत बताएका छन्। उनले उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतीय पक्षका टोलीहरू नेपालसँग निकट समन्वयमा रहेको जानकारी दिएका छन्।
भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री शाहसँग कुराकानी गरी समवेदना व्यक्त गरेको उल्लेख गरेका छन्।
नेपालको उत्तरी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। विशेषगरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
यसैबीच, छिमेकी मुलुक भारतले समेत उद्धार तथा राहतमा आवश्यक मानवीय सहयोगका लागि समन्वय अघि बढाएको जनाएको छ।
