इरान वार्तामा हतार छैन : ट्रम्प
वासिङ्टन, ११ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताउनुभएको छ ।
उहाँले आफू वार्ता पुनः सुरु गर्न हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।
अल जजिरासँग बुधबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको बताउनुभयो ।
उहाँले अमेरिकाले ‘धेरै ठूलो जित’ हासिल गरिरहेको दाबी गर्दै इरानको उच्च मुद्रास्फीति र कमजोर बन्दै गएको अर्थतन्त्रतर्फ सङ्केत गर्नुभयो । सैन्य आक्रमण वा आर्थिक उपायमध्ये कुन प्रभावकारी छ भन्ने प्रश्नमा उहाँले दुवै प्रभावकारी रहेको बताउनुभयो ।
यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी बिहीबार तेहरान पुगेर इरानी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार उहाँले तनाव घटाउने र वार्ताका लागि अनुकूल वातावरण बनाउने उपायबारे छलफल गर्नुहुनेछ । वार्तामा हर्मुज जलघाँटीमा जहाज आवागमनको स्वतन्त्रता तथा फेब्रुअरी २८ अघिको अवस्थातर्फ फर्किनुपर्ने विषय पनि उठाइनेछ ।
अमेरिकाले तेहरानविरुद्ध सैन्य अभियान सुरु गरेको करिब छ महिनापछि कतार र पाकिस्तानको सक्रियतामा तनाव कम गर्ने कूटनीतिक प्रयास अघि बढेको हो ।
यस क्रममा राष्ट्रपति ट्रम्पले जारी सैन्य कारबाहीमा गम्भीर घाइते भएको भनिएका इरानी सर्वोच्च नेता मोजतबा खामेनी अझै जीवित रहेको आफूलाई विश्वास रहेको बताउनुभएको छ ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टन तत्काल इरानविरुद्ध नयाँ सैन्य आक्रमण गर्ने पक्षमा नरहेको जानकारी दिनुभएको छ ।
अमेरिकी प्रशासनले अहिले नौसैनिक अवरोध र आर्थिक उपायमार्फत दबाब बढाउने रणनीति लिएको बताइएको छ । यद्यपि तेहरानबाट पहिले आक्रमण भएमा सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अगस्ट २४ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरु गर्ने घोषणा गर्नुभएको थियो । अभियानमार्फत इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनलाई सहयोग पुग्ने राजस्व स्रोत रोक्ने उद्देश्य राखिएको बताइएको छ ।
कतारको पहल पाकिस्तानी सेना प्रमुख असीम मुनीरको हालैको तेहरान भ्रमणपछि अघि बढेको हो । उहाँले हर्मुजको जलघाँटी पुनः खोल्ने तथा क्षेत्रीय प्रोक्सीमार्फत हुने आक्रमण रोक्ने प्रतिबद्धताको बदलामा नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउने अमेरिकी प्रस्ताव इरानसमक्ष राख्नुभएको बताइएको छ ।
कतार र पाकिस्तान अमेरिका–इरान द्वन्द्व कम गर्ने प्रयासमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय छन् । शुक्रबार अगस्ट २८ मा अमेरिकी सैन्य अभियान सुरु भएको छ महिना पुग्दैछ । यसअघि राष्ट्रपति ट्रम्पले द्वन्द्व चारदेखि छ हप्तामात्र चल्ने बताउनुभएको थियो ।
गत जुनमा अमेरिका र इरानले हर्मुज हुँदै पारवहन, इरानमाथिका प्रतिबन्ध हटाउने तथा तेहरानको आणविक कार्यक्रमबारे वार्तासहितका विषयमा ६० दिने समझदारी गरेका थिए । उक्त समझदारी यसै महिनाको सुरुमा समाप्त भएको थियो ।
