Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस/एपी)

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार स्पेसएक्सका संस्थापक एलन मस्कलाई ‘अर्डर अफ फ्रिडम’ (स्वतन्त्रता सम्मान) प्रदान गर्नुभएको छ । 

    युक्रेनको सर्वोच्च राजकीय सम्मानमध्ये एक यो पदक मानव जीवन र स्वतन्त्रताको रक्षा तथा युक्रेन र अमेरिकाबीचको सम्बन्ध सुदृढ बनाउन मस्कले पु¥याउनुभएको ‘असाधारण व्यक्तिगत योगदान’का लागि प्रदान गरिएको हो ।
    
    मस्क युक्रेनको युद्ध प्रयासमा निजी क्षेत्रबाट सङ्लग्न प्रभावशाली व्यक्तिमध्ये एक हुनुहुन्छ । स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिङ्क’ युक्रेनलाई उपलब्ध गराउने उहाँको निर्णय महत्वपूर्ण मानिन्छ । सन् २०२२ मा रुसले पूर्णस्तरीय आक्रमण सुरु गरेपछि स्टारलिङ्क युक्रेनी सेना र सर्वसाधारणका लागि सञ्चारको महत्वपूर्ण माध्यम बनेको छ ।

    स्टारलिङ्क युक्रेनको सैन्य कारबाहीमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ । युक्रेनी कमान्डर तथा सैनिक सञ्चार र सैन्य कारबाहीको समन्वयका लागि यसको स्याटेलाइट कनेक्टिभिटीमा निर्भर छन् । यसले युक्रेनको सैन्य क्षमतामा मस्कको प्रभावबारे भने चिन्ता पनि बढाएको छ ।

    मस्कको निर्णयले युक्रेनको भविष्यको सैन्य क्षमतामा प्रभाव पार्न सक्ने देखिन्छ । जेलेन्स्कीले रुसी भू–भागमा पनि स्टारलिङ्कको प्रयोग गर्न दिने विषयमा मस्कले आफ्नो निर्णय पुनर्विचार गर्ने अपेक्षा गर्नुभएको छ । यसबाट युक्रेनी सेनाले रुसी सैन्य तथा आर्थिक पूर्वाधारलाई लक्षित गर्ने लामो दूरीका ड्रोन अभियानमा स्याटेलाइट कनेक्टिभिटी प्रयोग गर्न सक्नेछ ।
    राष्ट्रपतिको आदेशमार्फत घोषणा गरिएको सम्मानबारे मस्कको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

रुसमा स्टारलिङ्क प्रयोगमा प्रतिबन्ध
    स्टारलिङ्क प्रविधि युक्रेनका ड्रोन अभियानमा समेत एकीकृत गरिएको छ । यसले ड्रोन सञ्चालकलाई ड्रोनसँग सम्पर्क कायम राख्दै लामो दूरीसम्म सञ्चालन गर्न सहयोग गर्छ । युक्रेनले स्टारलिङ्कमार्फत प्राप्त कनेक्टिभिटीलाई यस वर्ष रुसी सेनाको आपूर्ति तथा रसद प्रणालीविरुद्ध सञ्चालन गरिएको ड्रोन अभियानमा प्रयोग गरेको छ ।

    मस्कले युक्रेनी भू–भाग तथा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रमा स्टारलिङ्क प्रयोग गर्न अनुमति दिनुभएको छ । तर रुसभित्र भने यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यस वर्षको सुरुमा स्पेसएक्सले युक्रेनको अनुरोध स्वीकार गर्दै रुसी सेनाले कब्जा गरेको क्षेत्रमा प्रयोग गरिएका अनधिकृत स्टारलिङ्क टर्मिनल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।

    युक्रेनले स्टारलिङ्कको सहयोगमा गरेको ड्रोन अभियानले क्रिमियामा रुसी सेनाको रसद प्रणालीमाथि दबाब बढाएको छ । यसले सन् २०२२ को अन्त्यमा खेरसन र खार्किभ क्षेत्रमा युक्रेनले गरेको प्रतिआक्रमणपछि युद्धभूमिमा पुनः गति हासिल गर्न सहयोग गरेको युक्रेनी पक्षको दाबी छ ।

युक्रेनमा मस्कको प्रभाव
    स्टारलिङ्क युक्रेनको युद्धकालीन सञ्चार प्रणालीमा गहिरोसँग जोडिएपछि मस्क किएभका लागि महत्वपूर्ण साझेदारसँगै सम्भावित जोखिम र निर्भरताको स्रोतसमेत बन्नुभएको छ । स्टारलिङ्कको प्रयोगसम्बन्धी निर्णयमा मस्क र स्पेसएक्सको प्रभाव महत्वपूर्ण रहेकाले युक्रेनले उहाँसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको देखिन्छ ।

    जेलेन्स्कीले युक्रेनबाहिर स्टारलिङ्कको प्रयोग विस्तार गर्न अनुमति दिन मस्कलाई मनाउन अमेरिकी सहयोगसमेत खोज्नुभएको छ । मस्कले गत साता पत्रकारसँग युक्रेनलाई रुसभित्र स्टारलिङ्क प्रयोग गर्न अनुमति दिनु महत्वपूर्ण र खतरनाक रूपमा तनाव बढाउने कदम हुने बताउनुभएको थियो ।

    स्टारलिङ्कलाई लिएर युक्रेनको सरकारभित्र पनि विवाद भएको थियो । रुसभित्र युक्रेनले स्टारलिङ्क प्रयोग गर्न स्पेसएक्सले अनुमति दिएको थियो वा थिएन भन्ने विषयमा देखिएको भ्रमले जेलेन्स्की र तत्कालीन रक्षामन्त्री मिखाइलो फेडोरोभबीच तनाव बढाएको थियो । फेडोरोभ मस्कसँग युक्रेनी सरकारका प्रमुख वार्ताकारमध्ये एक हुनुहुन्थ्यो ।

    जेलेन्स्कीका अनुसार रक्षा मन्त्रालयबाट स्पेसएक्सले प्रयोगसम्बन्धी प्रस्ताव स्वीकृत गरेको गलत जानकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको एक विवादास्पद संवादमा भूमिका खेलेको थियो । ट्रम्पले त्यस क्रममा युक्रेनी राष्ट्रपतिमाथि आफूलाई धोका दिएको आरोप लगाउनुभएको थियो । जेलेन्स्कीले उक्त घटना कहिले भएको हो भन्ने खुलाउनुभएको छैन ।

    यस विषयले फेडोरोभविरुद्ध चालिएका ‘केही कदम’मा भूमिका खेलेको जेलेन्स्कीले गत साता पत्रकारलाई बताउनुभएको थियो । उहाँले फेडोरोभमाथि जानाजानी गलत सूचना दिएको आरोप भने लगाउनुभएको थिएन ।
    फेडोरोभलाई जुलाईमा गरिएको व्यापक सरकारी पुनःगठनका क्रममा पदबाट हटाइएको थियो । उहाँको बर्खास्तीले युक्रेनको युद्ध प्रयासमा मस्क र स्टारलिङ्कको भूमिकासँग जोडिएको राजनीतिक संवेदनशीलतालाई उजागर गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan