चालक दलका २२ जना अझै बेपत्ता
मुम्बई, १० भदौ : बङ्गालको खाडीमा पनामाको झण्डा बोकेको मालवाहक जहाज डुब्दा बेपत्ता भएका २२ जना चालक दलका सदस्यको खोजीमा भारतसँगै चीन पनि सहभागी भएको छ ।
भारतीय तटरक्षकका अनुसार चीनको समुद्री उद्धार समन्वय केन्द्रसँग सहकार्य गरी खोजी तथा उद्धार अभियान तीव्र पारिएको छ ।
एमभी ओसन विनर गत शनिबार ओडिसाको पारादीप बन्दरगाहबाट सिङ्गापुरतर्फ जाने क्रममा भारतको विशाखापट्टनमबाट करिब ७०० किलोमिटर पूर्वमा सङ्कटको सूचना पठाएर डुबेको थियो ।
जहाजमा २० चिनियाँसहित २४ जना चालक दलका सदस्य थिए । म्यान्माका तीन र बङ्गलादेशका एक जना पनि चालक दलमा थिए । हालसम्म दुई जनाको उद्धार भए पनि २२ जना बेपत्ता छन् ।
भारतीय तटरक्षकका प्रवक्ता कमान्डेन्ट अमित उनियालले जहाजसँग सम्बन्धित आपतकालीन बत्ती र एउटा लाइफबोट फेला परेको तर त्यसमा कोही नभेटिएको बताउनुभएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुई चिनियाँ जहाज पनि खोजीमा सहभागी भएका छन् । जहाज डुब्नुको कारण भने खुल्न सकेको छैन ।
