Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हर्मुज खोल्न इरानको सर्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस-एएफपी)

तेहरान, १० भदौ : इरान र ओमानले हर्मुज जलघाँटीमा अस्थायी नौवहन मार्ग सञ्चालन तथा समुद्री माइन सफा गर्ने विषयमा छलफल अघि बढाए पनि इरानले अमेरिका–इरान युद्ध अन्त्य र अमेरिकी नाकाबन्दी हटेपछि मात्र जलमार्ग पूर्ण रूपमा खोल्ने अडान राखेको छ ।

तेहरानमा भएको वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री बद्र अलबुसाइदीले अस्थायी नौवहन मार्ग स्थापना तथा माइन हटाउने संयुक्त परियोजनासहित ‘चरणबद्ध ढाँचा’ बारे छलफल गर्नुभएको हो ।

अलबुसाइदीले अस्थायी मार्गबारे छिट्टै घोषणा हुन सक्ने बताउँदै स्थायी नौवहन, सूचना आदानप्रदान, यातायात व्यवस्थापन र सुरक्षासम्बन्धी विषयमा प्राविधिक वार्ता जारी रहने जानकारी दिनुभयो ।

तर इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले हर्मुजबाट कुनै पनि सैन्य जहाजलाई आवागमन गर्न नदिने चेतावनी दिनुभएको छ । उहाँले अमेरिका युद्ध अन्त्य गरी नाकाबन्दी हटाएपछि मात्र जलघाँटी पुनः खोल्ने विषयमा अघि बढ्न सकिने बताउनुभयो ।

सामान्य अवस्थामा हर्मुजबाट विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास निर्यात हुने गर्छ । लामो समयदेखि जारी क्षेत्रीय युद्धका कारण समुद्री यातायात प्रभावित हुँदा विश्व ऊर्जा बजारमा समेत असर परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले हर्मुजमा रहेका सबै माइन हटाएको दाबी गर्नुभए पनि घारिबाबादीले त्यसलाई अस्वीकार गर्दै अमेरिकी माइनस्वीपर प्रवेश गरे कारबाही गर्ने चेतावनी दिनुभयो ।

यसैबीच, अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा अलग पार्ने अभियान जारी रहने बताउनुभएको छ । नयाँ प्रतिबन्धले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन तथा ढुवानी क्षेत्रलाई लक्षित गरेको छ । इरानले पनि अमेरिकी आर्थिक हितलाई लक्षित गरी जवाफ दिने चेतावनी दिएको छ ।

हर्मुजको सम्भावित दीर्घकालीन अवरोधले विश्व व्यापार र ऊर्जा आपूर्तिमा थप असर पार्ने चिन्ता बढिरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने बुधबार केही घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan