Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्र पारिएको छ । 

तीनवटै सुरक्षा निकायको समन्वयमा बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

आपतकालीन सडक उद्धारका लागि आवश्यक उपकरणसहित चिकित्सा तथा उद्धार टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । 

सतुङ्गलस्थित एपिएफ अस्पतालमा बाढी प्रभावितको सुविधाका लागि शय्या खाली गरिएको छ । 

रसुवाभन्दा तलका तटीय क्षेत्र (नुवाकोट, धादिङ र चितवन) मा रहेका सशस्त्र प्रहरीका युनिटलाई  विपद उद्धारका लागि अलर्ट अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । 

नदी किनारका जोखिमयुक्त बस्तीमा सशस्त्रका गाडी तथा गस्ती टोलीमार्फत सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिएको छ । 

नुवाकोटको सदरमुकाम बिदुरमा अस्थायी स्वास्थ्य सेवा स्थापना तथा सुचारु गर्ने कार्य भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी बलका इकाईमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्रीसहितका कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउने काम भइरहेको छ । देशका अन्य भागमा रहेका कन्टेनरलाई बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित र परिचालन गर्ने कार्य भइरहेको छ । 

भोटेकोशी/त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप सम्भावित हिमताल विस्फोट हुनसक्ने वा थप बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको निरन्तर संवाद तथा सूचना आदान–प्रदान भइरहेको छ । 

नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक खण्ड र कोरिडोरमा खसेको पहिरो हटाई उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । 

नदी किनार र बाढी प्रभावित क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकको पहिचालन गर्न तथा बाढीको क्षति मूल्याकङ्न गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । 

रसुवागढी भन्सार यार्डसहित बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको कुकुरसहितको खोजी तथा उद्धार टोली परिचालन भएको छ ।

बाढी प्रभावित क्षेत्रमा आपतकालीन हेलिप्याड तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाइएको छ । 

विस्थापित शिविरमा हैजा तथा पानीजन्य रोग फैलिन नदिन सशस्त्र प्रहरीको टोलीले आपतकालीन खानेपानी शुद्धीकरण गर्ने औषधि वितरण गर्ने कार्य गर्न निर्देशन भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan