Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः पीडितको उद्धार र खोजमा तीव्रताः प्रधानमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १० भदौ : रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी आएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा अघि बढाएको छ ।

साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सार्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीको जोखिम रहेका पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न÷नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकार भएका निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।

प्रधानमन्त्री शाहको निर्देशनमा उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।

गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ । साथै प्रधानमन्त्री शाहले सोही सम्बन्धमा छलफल गर्न बिहान ११ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan