बडीमालिका स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी तीर्थयात्री लाभान्वित
सुदूरपश्चिम, १५ भदौः धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा यही भदौ ११ गतेसम्म लागेको मेलाका अवसरमा सञ्चालित स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी तीर्थयात्री लाभान्वित भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयको आयोजना, सशस्त्र प्रहरी गुल्म बाजुराको समन्वय तथा सशस्त्र प्रहरी फिल्ड अस्पताल अत्तरियाको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ९०५ जना तीर्थयात्री लाभान्वित भएका हुन् ।
वैद्यनाथ बाहिनीले आज सार्वजनिक गरेको विवरणअनुसार सशस्त्र प्रहरी निरीक्षक डा चेतबहादुर धामीको नेतृत्वमा बडीमालिका मन्दिर परिसरमा यही भदौ १ देखि ११ र नाटेश्वरीमा भदौ ८ देखि १२ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । ती शिविरबाट ४१५ महिला र ४९० पुरुष गरी ९०५ जनाले प्राथमिक उपचारसहितको स्वास्थ्य सेवा लिएका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।
शिविरमा ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएका बिरामीलाई उपचारसँगै आवश्यक औषधिसमेत वितरण गरिएको उहाँले बताउनुभयो ।
शिविरको नेतृत्व गर्नुभएका डा धामीका अनुसार अधिकांश बिरामीमा लेक लाग्ने, अक्सिजनको कमी तथा मौसम परिवर्तनका कारण रुघाखोकी र ज्वरो आउने समस्या देखिएको थियो । त्यसक्रममा जटिल अवस्थाका बिरामीलाई उद्धार गरी थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा ‘रिफर’समेत गरिएको उहाँले बताउनुभयो ।
यसैगरी, त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले पनि बडीमालिकालगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नगरपालिकाले सञ्चालन गरेका ती शिविरबाट एक हजार १६९ तीर्थयात्रीले स्वास्थ्य सेवा लिएका जनाइएको छ ।
समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिकामा यस वर्ष गत वर्षको तुलनामा दोब्बर तीर्थयात्री पुगेको अनुमान गरिएको छ ।
गत वर्ष करिब ४५ हजार भक्तजनले बडीमालिका माताको दर्शन गरेको अनुमान थियो । यस वर्ष भक्तजनको सहजताका लागि भदौ १ गतेदेखि नै बडीमालिकामा पूजा सुरु गरिएको थियो । भदौ ११ गते मूल पूजा सम्पन्न भएको थियो ।
