Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस/सिन्ह्वा)

जिउछ्वान,१६ भदौ  : चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रमा मंगलबार बिहान १० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि रकेटले अपेक्षाअनुसार काम गर्दै आफ्नो पेलोडलाई निर्धारित कक्षमा सफलतापूर्वक पुर्‍याएको थियो।

परीक्षणका क्रममा निर्धारित सबै उद्देश्य पूरा भएको र सम्पूर्ण अभियान सफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यो उडान ‘पालास–१’ रकेटको पहिलो उडान हो।

‘पालास–१’ मध्यम आकारको दुई चरणमा आधारित तरल इन्धनयुक्त रकेट हो। यसलाई चिनियाँ निजी अन्तरिक्ष कम्पनी ग्यालेक्टिक इनर्जीले आफ्नै प्रविधिको प्रयोग गरी विकास गरेको हो।

रकेटको लम्बाइ करिब ५२ मिटर र मुख्य भागको व्यास ३.३५ मिटर रहेको छ। यसको प्रक्षेपण समयको कुल तौल करिब २८३ टन र प्रक्षेपण क्षमता करिब ३५० टन बराबरको रहेको कम्पनीले जनाएको छ। यसले न्यून पृथ्वी कक्ष (लो अर्थ अर्बिट) मा ५ देखि ७ टनसम्मको पेलोड पुर्‍याउन सक्ने क्षमता राख्छ।

ग्यालेक्टिक इनर्जीका एक अधिकारीका अनुसार, ‘पालास–१’ व्यावसायिक उपग्रहका ग्राहकलाई प्रभावकारी र तुलनात्मक रूपमा कम लागतमा अन्तरिक्षमा पेलोड पुर्‍याउने सेवा उपलब्ध गराउने उद्देश्यले विकास गरिएको हो। कम्पनीले यसलाई ग्राहकका लागि सुविधाजनक “अन्तरिक्ष एक्सप्रेस” का रूपमा प्रस्तुत गरेको छ।

रकेटको मुख्य प्रणोदन प्रणालीमा कम्पनीले आफ्नै प्रविधिबाट विकास गरेको ‘सीक्यू–५०’ तरल अक्सिजन–केरोसिन इन्जिन प्रयोग गरिएको छ। पहिलो चरणमा यस्ता सातवटा इन्जिन समानान्तर रूपमा जडान गरिएका छन्।
कम्पनीका अनुसार, इन्जिनको यो संरचना भविष्यमा रकेटलाई पुनः प्रयोग गर्न सकिने प्रविधिको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो। साथै, एउटा इन्जिनमा समस्या आए पनि समग्र प्रणालीको सञ्चालनमा प्रभाव कम पर्ने गरी अतिरिक्त सुरक्षा क्षमता राखिएको छ।

परीक्षणका क्रममा इन्जिनले आफ्नो निर्धारित क्षमताको ३२ प्रतिशतदेखि १०५ प्रतिशतसम्मको थ्रस्टमा काम गर्न सक्ने देखिएको कम्पनीले जनाएको छ।

‘पालास–१’ मा संरचना र प्रणोदन प्रणालीलाई एकीकृत रूपमा डिजाइन गरिएको छ। यसका साथै दुई प्रकारका इन्धन प्रयोग गर्ने सहायक प्रणोदन प्रणाली तथा रकेटमा पर्ने वायुगतिकीय भार कम गर्ने प्रविधि पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

आवश्यकताअनुसार रकेटमा ‘ईआरओएस–२’ माथिल्लो चरणसमेत जडान गर्न सकिने व्यवस्था गरिएको छ। यसले विभिन्न प्रकारका अन्तरिक्ष अभियान तथा व्यावसायिक पेलोड प्रक्षेपणका लागि रकेटको उपयोगिता थप विस्तार गर्न सकिने कम्पनीको भनाइ छ।

‘पालास–१’ को सफल पहिलो उडानले चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा नयाँ रकेट प्रविधिको परीक्षण तथा विकासमा थप प्रगति भएको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan