अफगानिस्तानमा १२ वर्षे द्वन्द्वमा ४० हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म जारी सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ । प्रतिवेदनअनुसार सन् २००९ को जनवरीदेखि २०२१ को अगस्ट मध्यसम्म कम्तीमा ४० हजार सर्वसाधारणको मृत्यु भएको छ भने ७७ हजारभन्दा बढी घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता मिसन (युनामा)ले मङ्गलबार सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित १९५ जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ । साथै, हिंसापीडितलाई सेवा प्रदान गरिरहेका २३ राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र २३ तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ ।
प्रतिवेदनअनुसार अन्तर्वार्ता लिइएका ९५ प्रतिशत व्यक्तिले द्वन्द्वका कारण अवसाद, चिन्ता, घटनाको बारम्बार सम्झना आउनेलगायत मनोवैज्ञानिक तथा भावनात्मक समस्या भोगेको बताएका छन् । त्यस्तै, ५८ प्रतिशतले सशस्त्र द्वन्द्वका कारण शारीरिक क्षति बेहोरेको बताएका छन् ।
आफ्ना प्राथमिक आवश्यकताबारे सोध्दा ८१ प्रतिशत पीडितले आर्थिक क्षतिपूर्ति, ४८ प्रतिशतले न्यायमा पहुँच तथा ४७ प्रतिशतले मानवअधिकार उल्लङ्नका घटना पुनः हुन नदिन आवश्यक उपायलाई प्राथमिकतामा राखेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले द्वन्द्वमा सङ्लग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीडितका अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ ।
