Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | रासस
newsabhiyan

 

म्याग्दी, २३ कात्तिक : युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन् । 

 

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा आइतबार बेनीमा आयोजित कार्यक्रममा साहित्यको विकास, विस्तार र प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने सुझाव दिइएको हो ।

 

म्याग्दी सामुदायिक पुस्तकालय र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा साहित्यिक कृति विमोचन, देवकोटाको व्यक्तित्व र योगदानको चर्चा, रचना वाचन तथा साहित्य क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा अन्तक्र्रिया गरिएको थियो ।

 

कार्यक्रममा म्याग्दीका स्रष्टा हरिप्रसाद पौडेलद्वारा लिखित ‘जेनजी विद्रोह’ दस्तावेजको सङ्गालो विमोचन गरिएको थियो । पुस्तकमा जेनजी विद्रोहसँग सम्बन्धित दस्तावेजका साथै समसामयिक सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था, चुनौती र सम्भावनाबारे विचार तथा विश्लेषणमूलक लेख समेटिएको लेखक पौडेलले बताउनुभयो ।

 

कार्यक्रममा अग्रज साहित्यकार ध्रुवलाल शर्माले महाकवि देवकोटाको जीवनी, साहित्यिक योगदान तथा समकालीन साहित्यको अवस्था र चुनौतीबारे चर्चा गर्नुभएको थियो । उहाँले प्रविधिको बढ्दो प्रयोग र कृत्रिम बौद्धिकताको विकासले साहित्य सिर्जनामा नयाँ चुनौती थपेको बताउँदै प्रविधिलाई सिर्जनाको प्रवर्द्धन र विस्तारको माध्यम बनाउनुपर्ने धारणा राख्नुभयो ।

 

“पाठक, स्रोता र दर्शक डिजिटल सामग्रीमा केन्द्रित भइरहेका छन् । कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले सिर्जनशीलतामा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर मौलिक, सिर्जनशील, तथ्यपरक र जागरणमूलक सामग्री पाठक, स्रोता र दर्शकमाझ पुर्याउनसके साहित्य थप प्रभावकारी बन्न सक्छ ।”

 

पौलत्स्य साहित्य समाजका उपाध्यक्ष शिव सस्मित, विश्व साहित्य मञ्च गण्डकी प्रदेशका अध्यक्ष प्रकाश अधिकारी, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका हिराबहादुर जिसी र साहित्यकार गणनाथ पौडेलले सूचना प्रविधिको माध्यमबाट साहित्यिक रचना, सिर्जना तथा कृतिलाई आमनागरिकसम्म पुर्याउनुपर्ने बताउनुभयो ।

 

मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन मल्लले नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनका लागि साहित्यिक गतिविधिलाई भर्चुअल तथा डिजिटल माध्यमबाट विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिका श्रेष्ठले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गराउने उद्देश्यले त्याग परियोजनाको सहयोगमा किशोरीको रचना वाचन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

 

हरेक वर्ष लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको धोबीधारामा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका साइँला छोराका रूपमा जन्मिनुभएका देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रमुख प्रवर्तक हुनुहुन्छ । 

 

कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यासलगायत साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका उहाँका ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’, ‘लुनी’ र ‘प्रमिथस’लगायत कृति नेपाली साहित्यका चर्चित सिर्जना हुन् ।

 

मानवता, समानता, प्रकृतिप्रेम र सामाजिक चेतनालाई आफ्ना साहित्यिक सिर्जनामा अभिव्यक्त गर्नुभएका देवकोटाले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गर्नुभएको छ । राणा शासनका समयमा सर्वसाधारणले पनि शिक्षा र ज्ञान आर्जन गर्न पाउनुपर्छ भन्ने अभियानमा सक्रिय रहनुभएका उहाँले त्यसक्रममा जेल जीवन बिताउनुपरेको थियो ।

 

विसं २०१५ मा गठित नेपालको पहिलो जननिर्वाचित सरकारमा शिक्षामन्त्री बन्नुभएका देवकोटाको विसं २०१६ भदौ २९ गते ५० वर्षको उमेरमा निधन भएको थियो । उहाँका साहित्यिक सिर्जना नेपाली भाषा र साहित्यका अमूल्य निधिका रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan