Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस-एएफपी)

मस्को, २१ साउन : युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौं किलोमिटर टाढा रहेका रूसका दुईवटा तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइ आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बताउनुभएको छ ।

प्रति आक्रमणमा रूसले युक्रेनको एउटा रेल स्टेसन र व्यावसायिक जहाजमा आक्रमण गरेको जनाएको छ ।

 पछिल्लो समयमा दुवै पक्षले लामो दूरीका आक्रमणहरू तीव्र पारेका छन्, जसका कारण सर्वसाधारणको मृत्यु हुने क्रम बढेको छ ।

किएभले रूसमाथि कीर्तिमानी सङ्ख्यामा ड्रोन प्रहार गरिरहेको छ भने मस्कोले पनि अहिले सम्मकै उच्च सङ्ख्यामा क्षेप्यास्त्र  तथा मिसाइल आक्रमण गरिरहेको जनाएको छ ।

जेलेन्स्कीका अनुसार युक्रेनले बाश्कोर्तोस्तान र यारोस्लाभ क्षेत्रमा रहेका तेल प्रशोधन केन्द्रहरूमा प्रहार गरेको हो, यी क्षेत्रहरू युद्धको स्थानबाट क्रमशः करिब  एक हजार ३०० किलोमिटर र ७०० किलोमिटर टाढा पर्दछन् ।

यी आक्रमणहरूले कूटनीतिको सम्भावनालाई बलियो बनाइरहेको जेलेन्स्कीले बताउनुभएको छ । 

रूसले युद्ध छोडी शान्ति रोज्नु पर्ने बताउँदै उहाँले रूसी सामाजिक सञ्जालबाट लिइएको एउटा भिडियो पनि पोस्ट गर्नु भएको छ जसमा आक्रमण गरिएका तेल प्रशोधन केन्द्रमाथि कालो धुवाँ उडिरहेको देखिएको छ ।

रूसको रक्षा मन्त्रालयले यसअघि नै रातको समयमा युक्रेनका ६०५ ड्रोनहरू खसालेको जनाएको थियो ।

मस्कोको उत्तरमा पर्ने यारोस्लाभ क्षेत्रका गभर्नरले त्यहाँ ९२ वटा ड्रोन खसालिएको बताउनुभएको छ । जेलेन्स्कीले सोही क्षेत्रको तेल प्रशोधन केन्द्रमा प्रहार भएको बताउनु भएको थियो । गभर्नरले यसलाई युद्धको क्रममा उक्त क्षेत्रमा भएको “सबैभन्दा ठूलो“ आक्रमणको संज्ञा दिनुभएको छ ।

मस्कोकै उत्तरमा पर्ने ट्भर क्षेत्रमा एउटा ड्रोनले ’वाइल्डबेरीज’ को लजिस्टिक केन्द्रमा प्रहार गरेको जनाइएको छ ’वाइल्डबेरीज’ रूसको एउटा ठुलो ई–कमर्स कम्पनी हो जसलाई पछिल्लो एक महिना यता बारम्बार निशाना बनाइएको छ ।

यसअघि किएभमा भएको रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो र विभिन्न खुद्रा विक्रेताहरूका गोदामहरू ध्वस्त भएका थिए । 

रूसले प्रहार गरेका क्षेप्यास्त्रलाई खसाल्न किएभ असफल भएपछि राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा सामग्री तत्काल उपलब्ध गराउन सहयोगीहरुलाई आग्रह गर्नु भएको छ । 

 बुधबार राति उत्तर–पूर्वी खार्किभ क्षेत्रको लोझोभा रेल स्टेसनमा भएको रूसी आक्रमणमा परी दुई जनाको मृत्यु भएको जनाइएको छ ।

ओडेसा क्षेत्रका गभर्नरका अनुसार, कालो सागरमा युक्रेनी गहुँ बोकेको एउटा व्यावसायिक जहाजमाथि रूसले गरेको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

युक्रेनविरुद्ध रूसको व्यापक आक्रमण सुरु भएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि कूटनीतिक प्रयासहरू ठप्प छन् भने दुवै देशले लामो दूरीका आक्रमणहरू तीव्र पारेका छन् जसका कारण सर्वसाधारण हताहत हुने क्रम बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan