Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकारोक्ति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस-एएफपी)

बोगोटा, २१ साउन : युक्रेनविरुद्धको युद्धमा कोलम्बियाली भाडाका सैनिक भर्ती गर्न सघाएको आरोपलाई रुसले अस्वीकार गरेको छ । कोलम्बियास्थित रुसी दूतावासले आफू वा आफ्ना प्रतिनिधिहरूको कुनै पनि भर्ती सञ्जालसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

कोलम्बियाको सञ्चारमाध्यम नोटिसियास काराकोलले हालै प्रकाशित अनुसन्धानात्मक प्रतिवेदनमा मस्कोले युक्रेनविरुद्धको युद्ध रणनीतिअन्तर्गत कोलम्बियाली नागरिकलाई भर्ती गरिरहेको दाबी गर्दै त्यससँग सम्बन्धित बयान र कागजात सार्वजनिक गरेको थियो ।
यसको जवाफमा कोलम्बियास्थित रुसी दूतावासले विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिहरूसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको छ । दूतावासले ती व्यक्तिहरूले आफ्ना गतिविधि कसरी सञ्चालन वा वित्तीय व्यवस्थापन गरिरहेका छन् भन्नेबारे पनि आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

यद्यपि विदेशमा सुरक्षा सेवाका नाममा गएका धेरै कोलम्बियालीका परिवारले रुस तथा युक्रेनमा आफ्ना आफन्तहरू दुव्र्यवहारमा परेको गुनासो गर्दै आएका छन् । तीमध्ये अधिकांश पूर्वसैनिक रहेको जनाइएको छ ।

गत नोभेम्बरमा रुसले युक्रेनी सेनाका पक्षमा लडेको आरोपमा दुई कोलम्बियाली नागरिकलाई १३ वर्षको जेल सजाय सुनाएको थियो ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कम्तीमा सात हजार कोलम्बियाली नागरिक आर्थिक लाभका लागि रुस र युक्रेन दुवै पक्षमा युद्धमा संलग्न रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्षको मार्चमा सार्वजनिक गरेको अनुमानअनुसार कम्तीमा १० हजार कोलम्बियाली नागरिकलाई विश्वका विभिन्न सशस्त्र द्वन्द्वमा सहभागी हुन विदेशमा भर्ती गरिएको छ । प्रतिवेदनमा उनीहरूलाई प्रायः ‘अमानवीय परिस्थितिमा’ काम गर्न बाध्य पारिएको उल्लेख गरिएको छ ।

कोलम्बियामा दशकौँदेखि छापामार समूह र लागूऔषध तस्करविरुद्धको सङ्घर्षमा प्रशिक्षित धेरै सैनिक अवकासपछि रोजगारीको अभाव झेल्ने गरेका छन् । यही कारण उनीहरू सुडान, यमन, युक्रेन तथा कङ्गो लोकतान्त्रिक गणतन्त्रजस्ता द्वन्द्वग्रस्त मुलुकमा भाडाका सैनिकका रूपमा जाने गरेको विश्लेषकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan