Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

काठमाडौँ, ३० साउनः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न म सधैँ तयार छु ।”

    नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै उहाँले देशका प्रतिभाको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा भाषा, साहित्य नै हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ ।”

    सभामुख अर्यालले मुलुकका विभिन्न स्थानमा रहेका तथा अझै उजागर हुन नसकेका प्रतिभा र साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा डा गोविन्द नेपालले गुठीले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो । उहाँले नेपाली साहित्यको विकास र प्रवर्द्धनका लागि गुठी निरन्तर सक्रिय रहेको बताउनुभयो ।

    कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा डा चूडामणि बन्धुलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

    पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएकामा खुसी व्यक्त गर्नुभएको थियो । उहाँहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यका क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan