वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीलाई लखन थापा मगर मेमोरियल गल्फको उपाधि
मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा आयोजित प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ । बर्ड हिल्स गल्फ सेन्टरमा भएको प्रतिस्पर्धामा इन्टेक ९६ उपविजेता बनेको छ ।
१३८ जना व्यक्तिगत खेलाडी र २२ वटा टिमको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगिताले बेलायतस्थित नेपाली समुदायमा खेलकुद, एकता, मित्रता र आपसी सद्भावलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको टिम विधामा विजेता बनेको वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५०० पाउन्ड नगद पुरस्कार प्राप्त ग¥यो भने उपविजेता इन्टेक ९६ ले ट्रफीसहित २५० पाउन्ड हात पा¥यो ।
व्यक्तिगत स्पर्धाको ग्रसतर्फ गजेन्द्र गुरुङ विजेता र संजीव राई उपविजेता बने । यस्तै, नेट विधातर्फ सोम थुलुङ विजेता तथा क्याप्टेन तम ढेगा उपविजेता घोषित भए ।
दुवै विधाका विजेताहरूले जनही २५० पाउन्ड नगद पुरस्कार प्राप्त गरेका छन् । ५५ वर्षमाथिको उमेरसमूहमा नारायण गुरुङ प्रथम र चीन थापा एमभीओ दोस्रो भए ।
नोभल्टी विधातर्फ एनटीपी पुरष्कार प्रकाश गुरुङ, एनटीपी थर्ड रमेश राई, सिनियर्सतर्फको लङ्गेस्ट ड्राइभ (एलडी) प्रदीप राई तथा ओपनतर्फ वरेन लिम्बुले जितेका छन् ।
प्रतियोगिताका पुरस्कारहरू मगर संघ यूके, क्याप्टेन तामबहादुर ढेंगा र ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रायोजन गरेका थिए । सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै ए स्टार फाइनान्सियल सलुशन्सले सफल आयोजनाका लागि संघलाई बधाई दिएको छ ।
खेलपश्चात् अल्डरशटस्थित ठमेल रेस्टुरेन्टमा पुरस्कार वितरण तथा रात्रिभोज आयोजना गरिएको थियो ।
मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कार्यक्रम संयोजक क्याप्टेन तामबहादुर ढेंगाले स्वागत र देव राना मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा नेपालबाट आएका कलाकारहरू निता थापा मगर, सरिश्मा राम्जाली मगर, बिमला घर्ती मगर र कामना ओलीसहितका स्रष्टाले सांस्कृतिक प्रस्तुति दिएका थिए । अध्यक्ष पुनले खेलाडीहरूको व्यापक सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धी बनाएको भन्दै सबै सहयोगी, प्रायोजक र सदस्यहरूप्रति आभार व्यक्त गरे ।
