भारतीय स्थल सेनाध्यक्षद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
काठमाडौं, २ भदौ । साउन ३१ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले आज शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नु भएको छ।
भ्रमणका क्रममा उहाँले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गर्नु भएको थियो।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण उक्त तालिममा १० विदेशी र ८२ नेपाली गरी जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरू सहभागी छन्।
वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजबाट हालसम्म नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १३२ गरी जम्मा १५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन्।
