Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

काठमाडौँ, २ भदौः ‘नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६’ ले ९९औँ एकेडेमी अवाड्र्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्रको छनोट प्रक्रिया सुरु गरेको छ ।

    समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी सूचनाअनुसार मापदण्ड पुगेका नेपाली चलचित्रले यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिनुपर्नेछ । ओस्कारमा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताले काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समयसीमाभित्र आफ्ना चलचित्र दर्ता गराउन आह्वान गरिएको छ ।

    ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ भने विसं २०८२ असोज १५ देखि विसं २०८३ असोज १४ भित्रसिनेमा घरमा प्रदर्शन गरेको हुनुपर्नेछ । यसका साथै, चलचित्र व्यावसायिक सिनेमा घरमा टिकट काटेर लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने प्रावधान राखिएको समितिका अध्यक्ष शर्माले बताउनुभयो ।

    अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा सात दिन प्रदर्शन भएका चलचित्रलाई पनि मान्यता दिइनेछ । प्रदर्शनको सर्त पूरा नभएको खण्डमा भने चलचित्रले ओस्कारले तोकेका आधिकारिक अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ । उहाँका अनुसार टेलिभिजन, ‘भिओडी’, ‘डिभिडी’, ‘इन्टरनेट स्ट्रिमिङ’ वा ‘एयरलाइन इन्टरटेनमेन्ट’ जस्ता माध्यमबाट पहिलो पटक प्रदर्शन भएका चलचित्र भने छनोटका लागि अयोग्य मानिनेछन् ।

    सहभागिताका लागि चलचित्रको निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने र चलचित्रमा नेपाली परिवेश तथा तत्वहरू झल्किएको हुनुपर्ने सर्त राखिएका छन् । त्यसैगरी, चलचित्रको ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ भने स्पष्ट बुझिने अङ्ग्रेजी ‘सवटाइटल’ अनिवार्य रूपमा राखिएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

    छनोटमा परेको खण्डमा चलचित्रले ओस्कारको प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्ने समितिले जनाएको छ । इच्छुक निर्माताले आवेदन दिई आवश्यक सामग्रीसहित काठमाडौँस्थित सचिवालयमा सम्पर्क गर्न सक्नेछन् । यससम्बन्धी थप नियम र प्राविधिक जानकारी ओस्कारको आधिकारिक वेवसाइटबाट हेर्न सकिनेछ । आवेदन तथा थप जानकारीका लागि समितिका अध्यक्ष शर्मालाई सम्पर्क गर्न वा समितिको आधिकारिक इमेलमा पत्राचार गर्न सकिने समितिले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan