हाप्किडो टोली कोरिया प्रस्थान
काठमाडौं भदौ ४ गते । ११ औं विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गरेको छ । अगष्ट २२ तारिखमा हुने प्रतियोगितामा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ८०–८४ केजीमा दीपक छन्त्याल तथा महिला ४८–५२ केजीमा मेग्मा गुरुङले प्रतिस्पर्धा गर्ने छन् । थाइल्यान्डमा भएको गत संस्करणमा मेग्माले रजत जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् । हाप्किडोको विश्व च्याम्पियनसिप २ वर्षको अन्तरालमा हुने गरेको छ ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य पवन शाहीले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
