डीडीसीकाे घिउ अब दुबईमा पनि पाइने
काठमाडौं, ५ भदौ । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी) बाट उत्पादित घिउ दुबईमा पनि पाइने भएको छ ।
त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।
पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबईमा घिउ निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
दुबईमा रहेका बिक्रेताले परीक्षणको रूपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।
नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ ।
दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घिउसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ ।
