विश्व सम्पदा पशुपति क्षेत्रमा निरन्तर भयो सात हप्ता सफाइ
काठमाडौँ, ६ भदौः आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा सातौँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप असार अन्तिम सातादेखि सफाइ सुरु गरेको थियो ।
विगत सात हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । साउनको सोमबार सकिए पनि सफाइ अभियानलाई निरन्तरता दिइने कोषले जनाएको छ । सफाइको सातौँ हप्ता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।
सातौँ हप्ताको आजको सफाइका क्रममा नेपाल वेद विद्याश्रम क्षेत्रमा सफाइ गरिएको थियो । गत हप्ता पनि कोषले यहीँ सफाइ गरेको थियो । तुलनात्मक रूपमा यस क्षेत्रमा बढी फोहर जम्मा भएकाले यहाँ दोहोर्याएर सफाइ गरिएको हो । सफाइमा कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत सञ्चालक परिषद् सदस्यहरू र कर्मचारीको पनि सहभागिता थियो ।
यसैगरी नेपाल वेद विद्याश्रमका शिक्षक, कर्मचारी र विद्यार्थीको पनि सक्रियता रहेको उहाँले बताउनुभयो । सफाइमा तीनवटै सुरक्षा निकायका अधिकारीहरू प्नि सहभागी भएको जनाइएको छ । प्रहरी पहरा गणलगायत सुरक्षा निकायको पनि सफाइमा सहभागिता रहेको थियो । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा राख्न चेतना जगाउने उद्देश्यले सफाइ अभियान सुरु गरिएको हो ।
चान्द्रमास अनुसार भने साउन १८ गतेको सोमबार पहिलो थियो । चान्द्रमास अनुसार साउन २५ गते दोस्रो सोमबार र भदौ १ गतेको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको लामो लाम थियो । अब एउटा सोमबार अर्थात् भदौ ८ गते पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने भएकाले त्यसै अनुसार तयारी गरिएको कोषले जनाएको छ । कतिपय भक्तजनले भने चान्द्रमास अनुसार साउन लागेपछि मात्र पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहेको बताएका छन् ।
यस वर्ष असार अन्तिम साता अस्त भएको बृहस्पति साउन २६ गते उदय भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसैले चान्द्रमास अनुसारका बाँकी एउटा सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने भएकाले त्यसै अनुसार तयारी स्वरूप सफाइलाई निरतर ग िरएको जनाइएको छ ।
साउनको चान्द्रमास अनुसार श्रावण महिनाको शनिबार आज पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो थियो । शनिबारको सार्वजनिक बिदाका दिन अन्य दिन जान नसक्ने भक्तजनको लाम पशुपतिनाथमा लागेको हो । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको बार भएकाले पनि साउन महिना र सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा पर्ने भएकाले शनिबार र आइतबार पनि पशुपतिनाथमा धेरै भक्तजनको लाम लाग्ने गरेको छ ।
