Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार | (रासस)

बाँके ७ भदौः लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ । अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्नेलगायत समस्या देखिन्छ ।

डा चौधरीले भन्नुभयो, “लामो समय कुरा गर्नका लागि मोबाइललाई कानभन्दा टाढा राखेर गर्नुपर्छ, नत्र त्यसले ठूलो समस्या निम्त्याउन सक्छ ।” 

डा चौधरीले गर्मी मौसममा चिसो पेय पदार्थको अधिक प्रयोगले पनि कान, नाक घाँटीको नली अवरोध गर्ने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय नाक, कान र घाँटीमा एलर्जीका ठूला समस्या भएका बिरामी उपचारका लागि आइरहेका छन् । उहाँले चिसोको अधिक प्रयोग नगर्न सुझाव दिनुभयो ।
 
“जुन बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यही बिरामीलाई चिसोले बढी सताउँछ र त्यस्तो बिरामीले हाछिउँ गर्दा नाक र कानलाई दबाब पर्छ त्यसले पनि नाक कान रोगका बिरामी बढ्न सक्छन,” उहाँले भन्नुभयो ।

डा चौधरीले सामाजिक तथा आर्थिक रूपले पछाडि पारिएका समुदाय सबैभन्दा बढी प्रभावित उल्लेख गर्नुभयो । नाक र कानका लागि वातावरणीय प्रदूषणसँगै चिसो पेय पदार्थको सेवनले देखिने एलर्जीका बिरामी पनि अस्पतालमा आउने गरेको बताउनुभयो ।
 
त्यस्तैगरी लामो समयदेखि कान दुख्ने, पाक्ने, कानमा फोहर जम्नेलगायत समस्या भएका बिरामीका लागि बाँकेको खजुरा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क कान स्वास्थ्य शिविर उपयोगी देखिएको छ ।

उपचारका लागि अस्पताल पुग्न नसकेका विपन्न समुदायका स्थानीयका लागि खजुरा गाउँपालिकाको शानिबार आयोजनामा सञ्चालन गरिएको शिविरमा गाउँका विभिन्न क्षेत्रबाट आएका ५३२ जनाको कान परीक्षण गरिएको छ ।  

परीक्षणका क्रममा ७५ जनामा कान पाक्ने, ६१ जनामा कानेगुजी जम्ने, ३३ जनामा कानमा ढुसी देखिने र १८ जनामा कानमा मेसिन लगाउने समस्या पाइएको स्वास्थ्यकर्मी भीषण थारुले जानकारी दिनुभयो । उहाँका अनुसार थप उपचार तथा शल्यक्रियाको आवश्यकता देखिएका २८ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको स्वास्थकर्मी थारुले बताउनुभयो ।
  
कानमा समस्या देखिए पनि सामान्य ठानेर लामो समयसम्म उपचार नगर्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा समस्या जटिल बन्ने गरेको स्वास्थ्यकर्मीहरू बताउनहुन्छ  ।

शिविरमा आएका सेवाग्राहीको कान परीक्षण तथा स्वास्थ्य परामर्शमा स्वास्थ्यकर्मी भीषण थारु, तीर्थमान थारु, दामोदर चौधरी र सीताकुमारी चौधरीलगायत रहनुभएको थियो ।

सो शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगञ्जले प्राविधिक सहयोग गरेको थियो । खजुरा गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ तथा प्राविधिक सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan