अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं : काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ४० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय आशिक महतो समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००५ प २४१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-५ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम र गाँजा ३३ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुमनराज प्रसाई र ३० वर्षीय सिताराम तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रदिप टुडु, २० वर्षीय सचिन दास र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय संजित राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प २८४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका-५ सुन्दरटोल बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद ४ हजार ८ सय २० रूपैयाँ सहित गुलरिया नगरपालिका-१ बस्ने २७ वर्षीय भुपेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताराताल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट अवैध लागूऔषध गाँजा ४ सय ९३ ग्राम सहित कौडेना गाउँपालिका-२ ईनर्वा टोल बस्ने २५ वर्षीय अमान मिकरानिलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
