मोनालिशा खम्बू चेस प्रशिक्षकलाई ट्रेनिंग दिन कक्स–बजार, बंगलादेश प्रस्थान
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू ‘चेस प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ का लागि आइतबार बंगलादेशको पर्यटकीय सहर कक्स–बजार प्रस्थान गरेकी छन् ।
उनलाई विश्व बुद्धिचाल महासंघ (फिडे) ले मुभमेन्ट इन रिफ्युजी (एमआईआर) र हिमालयन चेस एकेडेमी (एचसीए) को सहकार्यमा सन्चालन गरिने एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा फिडे इन्स्ट्रक्टर (एफआई) को जिम्मावारीसहित बंगलादेश पठाएको हो । उनले एमआईआर, यूएनएचसीआर र कक्स–बजार चेस क्लबका २० जनालाई ट्रेनिंग दिनेछिन्, जसब उनीहरू सामुदायिक प्रशिक्षक बन्नेछन् ।
हिमालयन चेस एकेडेमीकी संस्थापक र फिडे कमिसन फर वुमेन्स चेसकी सदस्यसमेत रहेकी खम्बूले यसअघि चेस फर प्रोटेक्सन अन्तर्गत कक्सबजारस्थित रोहिंग्या शरणार्थी समुदायका बालबालिकालाई पनि चेस ट्रेनिंग दिइसकेकी छन् ।
अमेरिकी संस्था द गिफ्ट अफ चेसकी एम्बासडरसमेत रहेकी खम्बू नेपालकी पहिला महिला राष्ट्रिय च्याम्पियन हुन् ।
उनले नेपालको प्रतिनिधित्व गर्दै चेस ओलम्पियाड (सन् २०१४, २०१६ र २०१८), एसियन गेम्स (२००६ र २०१०), एसियन इन्डोर एन्ड मार्शल आट्र्स गेम्स (२००९, २०१३ र २०१७) लगायत थुप्रै प्रतियोगिता खेलेकी छन् ।
