युद्धबीच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार
युद्धबीच इरानी नागरिकहरू अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आइतबार स्वीकार गर्नुभएको छ । अमेरिकाले नयाँ प्रतिबन्धको श्रृङ्खला ल्याएर इरानको अर्थतन्त्रलाई थप सङ्कटग्रस्त बनाउन खोजेपछि उहाँको यो भनाइ सार्वजसनक भएको हो ।
“म बुझ्छु कि अहिले समाजमा धेरै समस्या छन् । हामी सकेसम्म यी समस्या रोक्न प्रयास गरिरहेका छौँ,” पेजस्कियानले राष्ट्रिय टेलिभिजनमा प्रसारित एक भिडियो सम्बोधनमा भन्नुभयो ।
उहाँको यो टिप्पणी अमेरिकाले गत हप्ता इरानी शासनलाई ‘पतन’ तर्फ धकेल्ने लक्ष्यसहित नयाँ प्रतिबन्ध अभियान घोषणा गरेपछि आएको हो । दुई देशबीच युद्ध सुरु भएको करिब छ महिना बितिसकेको छ ।
उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण इरानले अहिले ‘पूर्ण आर्थिक, सैन्य र सुरक्षा युद्ध’ को सामना गरिरहेको छ ।
“ट्रम्प प्रशासनले इरानमाथि सबैभन्दा कडा र डरलाग्दो प्रतिबन्ध लगाइरहेको छ,” पेजेस्कियानले भन्नुभयो ।
इरानी सरकारले पछिल्ला वर्षहरूमा धेरै पटक ठूला जनप्रदर्शनको सामना गर्नुपरेको छ । यी प्रदर्शनहरू प्रायः आर्थिक कठिनाइ मुद्रास्फीति र विनिमय दरको उतारचढावले क्रयशक्ति घटेका कारणबाट सुरु हुने गर्छन् ।
गत डिसेम्बरको अन्त्यतिर जीवनयापनको खर्च बढेपछि सुरु भएको विरोध प्रदर्शनले सत्ताविरुद्ध ठूलो दवाव दिएको थियो। हजारौँ प्रदर्शनकारीसहित सयौँ अधिकारीको पनि उक्त आन्दोलनका क्रममा मृत्यु भएको थियो ।
अधिकारिहरूले उक्त हिंसामा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका थिए र अमेरिका तथा इजरायललाई हिंसा उक्साएको आरोप लगाएका थिए । तर विदेशस्थित इरानी गैरसरकारी संस्थाहरूले भने अधिकारीहरूले निर्दयी दमन गरेर हजारौँ मानिसको ज्यान लिएको दाबी गरेका थिए।
“हामी दिलदेखि प्रयास गरिरहेका छौँ कि मुद्रास्फीति, जीवनयापनका समस्या, बेरोजगारी जस्ता कुराहरूलाई जित्न सकियोस् र जनताको भविष्य सुरक्षित होस्, ताकि उनीहरू सम्मान र गर्वका साथ बाँच्न सकून्,” पेजेस्कियानले आइतबार भन्नुभयो ।
