Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)

मकवानपुर, ९ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशवासीका मुद्दालाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।     प्रदेशसभाको बैठकमा आज विश्वासको मत माग्ने क्रममा उहाँले प्रदेश सरकारलाई प्रशासन चलाउने संरचनाभन्दा जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने बताउनुभयो ।

    उहाँले प्रदेशसभाबाट बजेट पारित भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो भूमिका हुने बताउनुभयो । सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गर्ने उहाँको भनाइ छ । उहाँले उपलब्ध साधनस्रोतको समुचित प्रयोगबाट प्रदेशवासीको आशा र अपेक्षा सम्बोधन गर्नु आफ्नो जिम्मेवारी भएको बताउनुभयो । 

    प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि, वन, पर्यटन, रोजगारी र सहज सार्वजनिक सेवामा जोड दिने उहाँले बताउनुभयो । गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न प्रभावकारी भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री थापामगरले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, प्रविधिको प्रयोग, शिक्षक क्षमता विकास र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

    उहाँले किसानलाई अनुदानमा मात्र सीमित नराखी उत्पादनदेखि बजारसम्म जोड्ने नीति लिइने बताउनुभयो । युवाको विदेशपलायन रोक्न प्रदेशमै उद्योग, पर्यटन, सूचना प्रविधि, कृषि, साना उद्यम र खेलकुदमार्फत रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । विकास योजनामा ढिलाइ हुने प्रवृत्ति अन्त्य गर्न आवश्यकताका आधारमा योजना छनोट, समयमै ठेक्का प्रक्रिया, गुणस्तरीय निर्माण र समयमै आयोजना सम्पन्न गर्ने प्रणाली विकास गरिने मुख्यमन्त्री थापामगरको भनाइ छ । 

    बागमतीमा सङ्घीय राजधानीसहित ठूलो जनसङ्ख्या, आर्थिक गतिविधि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सम्भावना रहे पनि दुर्गम भूगोल, ग्रामीण क्षेत्र, विपन्न तथा सीमान्तकृत समुदाय अझै आधारभूत सेवाबाट टाढा रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री थापाले सरकार सत्ता पक्षको मात्र नभई प्रदेशका सबै जनताको सरकार भएको बताउँदै प्रतिपक्षको आलोचनालाई विरोधका रूपमा नभई सरकारलाई सही बाटोमा हिँडाउने खबरदारीका रूपमा लिइने प्रष्ट पार्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan