खोज तथा उद्धारमा १ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन, ९८ शव र ७३ जनाको सकुशल उद्धार
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालले १ हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ।
सशस्त्र प्रहरीले Collapsed Structure Search and Rescue (CSSR) टोलीसहित विपद् प्रतिकार्य बेस स्थापना गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। टोलीमा ब्याकअप पावर सप्लाइज, मेडिकल तथा प्यारामेडिक्स, Mass Casualty Vehicle, Dead Body Management (DBM) विशेषज्ञ, Camp Coordination and Camp Management (CCCM) विशेषज्ञ, Medical First Responder (MFR) विशेषज्ञ तथा गोताखोर र Swift Water Rescue तालिमप्राप्त सुरक्षाकर्मीसमेत परिचालित छन्।
CSSR टोलीले बाढीबाट प्रभावित विभिन्न संरचना, जलविद्युत् आयोजना तथा अन्य स्थानमा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार जारी राखेको छ।
सशस्त्र प्रहरीका अनुसार K9 (Dog Squad) र ६ वटा ड्रोनसहितको Drone Squad समेत परिचालन गरिएको छ। परिचालित टोलीले लोकेट गरिएका १२ स्थानबाट हालसम्म ९८ वटा शव फेला पारेको, ३० जना घाइतेको उद्धार गरेको तथा ७३ जनालाई सकुशल उद्धार गरेको जनाएको छ।
बाढीमा परी घाइते भएकाहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी सेवा सञ्चालन गरिरहेको छ। त्यस्तै, थप उपचार आवश्यक पर्ने बाढीपीडितका लागि नेपाल एपीएफ अस्पतालमा १०० वटा शय्या तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेका १०० शय्या क्षमताका Disaster Relief System (DRS) कन्टेनर प्रभावित क्षेत्रमा तत्काल पुर्याउने काम भइरहेको छ।
अन्य स्थानमा रहेका DRS कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा प्रधान कार्यालय तथा विभिन्न जिल्लास्थित सशस्त्र प्रहरी युनिटबाट विपद् व्यवस्थापन तालिमप्राप्त थप जनशक्ति आवश्यक उद्धार तथा राहत सामग्रीसहित परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्थल, जल तथा हवाई माध्यमबाट उद्धार क्षमता परिचालन गर्दै सम्पर्कविहीन व्यक्तिको खोजीलाई निरन्तरता दिइएको छ।
