Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस-एपी)
newsabhiyan

क्वालालम्पुर, ११ भदौ : मलेसियाका पूर्वप्रधानमन्त्री इस्माइल साबरी याकुबलाई सम्पत्ति घोषणा गर्न असफल भएको अभियोग लगाइएको छ । उहाँ पदबाट हटेपछि आपराधिक अभियोग सामना गर्ने मलेसियाका तेस्रो पूर्वप्रधानमन्त्री बन्नुभएको छ ।

छैसठ्ठी वर्षीय इस्माइलले भ्रष्टाचारविरोधी निकायको सूचनापछि आफ्नो सम्पत्तिको पूर्ण विवरण नबुझाएको आरोपमा बिहीबार अदालतमा आफू दोषी नरहेको बताउनुभयो ।

आरोपपत्रमा मलेसियाली तथा विदेशी मुद्रा, सुन र चाँदीसहित ठूलो परिमाणमा सम्पत्ति लुकाइएको उल्लेख छ । दोषी ठहरिएमा उहाँलाई पाँच वर्षसम्म कैद र एक लाख रिङ्गिटसम्म जरिवाना हुन सक्नेछ ।

इस्माइल सन् २०२१ अगस्टदेखि २०२२ नोभेम्बरसम्म करिब १५ महिना प्रधानमन्त्री बन्नुभएको थियो ।

पदबाट हटेपछि उहाँको कार्यकालमा सरकारी प्रचारप्रसारमा करोडौँ डलर खर्च भएको विषयमा भ्रष्टाचारविरोधी अधिकारीहरूले पटक–पटक सोधपुछ गरेका थिए । उहाँसँग सम्बन्धित सम्पत्तिबाट सुनका बार र करिब चार करोड डलर नगदसमेत जफत गरिएको बताइएको छ ।

इस्माइलका वकिल आमेर हम्जा अर्शदका अनुसार उहाँलाई जमानतमा रिहा गरिएको छ । आरोप ‘आधारहीन’ रहेको भन्दै उहाँले कानूनी प्रक्रियामार्फत त्यसको प्रतिवाद गर्ने बताउनुभयो । मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बर २९ मा हुनेछ ।

इस्माइललाई यसअघि अगस्ट ७ मै अभियोग लगाउने तयारी गरिएको थियो । तर मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भई पेसमेकर जडान गरेपछि प्रक्रिया स्थगित गरिएको थियो ।

उहाँमाथिको अभियोग पूर्वप्रधानमन्त्री नजिब रजाक र मुहिद्दीन यासिनविरुद्धको कानूनी कारबाहीपछि आएको हो ।

नजिब १एमडीबी सरकारी लगानी कोषको अर्बौं डलर हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहरिएर छ वर्षको जेल सजाय भोगिरहनुभएको छ । उहाँलाई गत वर्ष अर्को ठूलो भ्रष्टाचार मुद्दामा थप १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

यसैगरी, मलेसियाका आठौँ प्रधानमन्त्री मुहिद्दीन यासिनमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा कानूनी प्रक्रिया अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan