गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी
न्युयोर्क, ११ संयुक्त राष्टसङ्घले गाजाको युद्धविराम नाजुक भएको उल्लेख गर्दै इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्क क्षेत्रको अवस्था बिग्रँदै गएको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष समन्वयकर्ता रमिज अलक्बरोभले गाजाका बासिन्दाहरूले असहनीय अवस्था र अत्यधिक पीडाको सामना गर्नुपरेको उल्लेख गर्नु भएको छ । उहाँले यद्धविराम पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
उहाँले अवैध कब्जाको अन्त्य गर्ने, प्यालेस्टिनी आत्मनिर्णयलाई महसुस गर्ने र दुई–राज्यबीचका समस्याको समाधानलाई अगाडि बढाउने राजनीतिक तथा कुटनैनिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्नु पर्ने कुरामा जोड दिनुभएको छ ।
उहाँले सुरक्षा परिषद्को प्रस्ताव –२८०३ को तत्काल कार्यान्वयनका लागि पनि आग्रह गर्नुभएको छ ।
अलक्बरोभले गाजामा स्वास्थ्य सेवा, सरसफाई र फोहोर व्यवस्थापन लगायत आवश्यक सेवाहरू पुनस्र्थापना गर्नुपर्ने कुरामा जोड दिँदै मानवीय आपूर्तिमा निरन्तर प्रतिबन्ध तथा अपर्याप्त कोषको चेतावनी दिनुभएको छ ।
उहाँले वेस्ट ब्याङ्क क्षेत्रमा, बसोबास गर्दै आएका निर्दोष मानिसहरुमाथि गर्ने आक्रमण र गैर–जवाफदेहिताको निन्दा गर्दै इजरायललाई नागरिकहरूको सुरक्षा गर्न र अपराधीहरूलाई जवाफदेही बनाउन आग्रह गर्नुभएको छ ।
इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलमको युएनआरडब्लुए प्रशिक्षण केन्द्रमा जबरजस्ती प्रवेश गरेको रिपोर्टको निन्दा गर्दै उहाँले युएनआरडब्लुएका सुविधाहरू कब्जा गर्ने वा नियन्त्रण गर्ने प्रयासहरू अन्त्य गर्न आह्वान गर्नुभएको छ । भदौ :
