Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थानीय बाली लगाउने किसानलाई प्रोत्साहन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)

गण्डकी, २८ साउनः किसानलाई स्थानीय जातको खेतीतर्फ आकर्षित गर्न पोखरा महानगरपालिकाले प्रोत्साहन अनुदानसहित बजारीकरणमा सहयोग गर्दै आएको छ । कोदो, कागुनो, उवालगायत स्थानीय जातका बाली जोगाउन महानगरले पहल थालेको हो । 

    उन्नत र वर्णशङ्कर जातका खाद्यबालीको विस्तारले स्थानीय जातका बाली सङ्कटमा परेका छन् । महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले स्थानीय बालीसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताउनुभयो । “कोदो र कागुनोको न्यूनतम समर्थन मूल्य पनि तोकिएको छ”, उहाँले भन्नुभयो, “किसानको उत्पादनलाई मूल्य शृङ्खलामा जोड्ने विषयमा पनि महानगरले सहजीकरण गरिरहेको छ ।”

    पछिल्लो समय कोदोको माग र उपभोग बढ्दै गएकाले खेती विस्तारतर्फ जोड दिइएको कडरियाले बताउनुभयो । महानगरले यस वर्षको कोदो दिवसका अवसरमा कोदोखेती गर्ने किसानलाई नगदसहित सम्मानसमेत गरेको थियो । करिब १७ रोपनीमा कोदोखेती गर्नुभएका पोखरा–२२ का किसान खगी घर्ती, ११ रोपनीमा खेती गर्ने पोखरा–२० का दुर्गाबहादुर सुनार, १० रोपनी क्षेत्रफलमा खेती गर्ने पोखरा–२८ का शोभा भण्डारी र नौ रोपनीमामा कोदोखेती गर्ने पोखरा–२३ का होमबहादुर गुरुङ सम्मानित हुनुभएको हो । 

    महाशाखा प्रमुख कडरियाका अनुसार स्थानीय जातका बालीको खेती गर्ने किसानलाई बीउ वितरण, जग्गा तयारीलगायतमा ५० प्रतिशतसम्म अनुदान दिइएको हो । प्रोत्साहन सहयोग पाएपछि महानगरको ग्रामीण भेगका किसान स्थानीय बालीको खेतीतर्फ आकर्षित भएका उहाँको भनाइ छ । “कोदोखेती छोड्नै लागेका किसानले पनि महानगरले प्रोत्साहन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपनि पुनःखेती विस्तार गर्नुभएको छ”, उहाँले भन्नुभयो । 

    स्वस्थ र पोषणयुक्त हुने भएकाले सहरिया उपभोक्तामाझ पनि पुरानो खाद्यबाली लोकप्रिय बन्दै गएको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । महानगरले किसानलाई स्थानीय बालीबाट विभिन्न परिकार बनाउने तालिमसमेत प्रदान गरेको छ । परम्परागत जातका खाद्यबाली सुक्खा ठाउँमा पनि हुने भएकाले पछिल्लो समय गाउँघरमा बढीरहेको जग्गा बाँझिने क्रमलाई घटाउन उक्त कार्यक्रमबाट मद्दत पुग्ने विश्वास लिइएको छ । 

    स्थानीय जातको खेती प्रवर्द्धनका लागि महानगरले विभिन्न मेला/महोत्सव र प्रदर्शनीमार्फत पनि किसान र उपभोक्तालाई आकर्षित गर्दै आएको छ । कृषि महाशाखाका अनुसार नगर क्षेत्रको करिब तीन हजार ८०० हेक्टर क्षेत्रफलमा कोदोखेती लगाउने गरिएको छ । वार्षिक चार हजार ८०० मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan