Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सहकारीद्वारा चार डेरीमार्ट सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)

चितवन, २८ साउनः जिल्लामा उत्पादित दूधबाट निर्माण गरिएका दुग्धजन्य परिकारको बिक्रीका लागि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चार वटा डेरीमार्ट सञ्चालनमा ल्याएको छ । सङ्घले भरतपुर महानगरपालिका-१० को दूरसञ्चार रोड, इन्द्रेणी चोक, वडा नं ३ को बेलचोक र वडा नं १२ को टाउन चोकमा मार्ट सञ्चालनमा ल्याएको हो ।

    स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरिएको हो । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार नयाँ सञ्चालनमा आएका डेरीमार्टमा किसानबाट सङ्कलित शुद्ध दूध, दही, घिउ, पनिर, नौनीलगायत परिकार उपलब्ध हुनेछन् । सङ्घले एउटा मार्ट निर्माणका लागि करिब रु सात लाख खर्च भएको जनाएको छ । 

    सङ्घको रत्ननगरमा रहेको आफ्नै दुग्ध उद्योगबाट उत्पादित वस्तु यी मार्टबाट बिक्री गर्दै आएको छ । आफ्नै मार्टबाट आफ्नै उत्पादन बिक्री गर्न थालेपछि उपभोक्ताको विश्वास बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्टले गर्दा दुग्ध उत्पादक किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।”

    अहिले जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएकामा ५० प्रतिशत जिल्लाका बजारमा खपत हुँदै आएको छ सङ्घका अध्यक्ष बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ५० प्रतिशत कास्की, काठमाडौँ, रुपन्देही, गोरखा, नवलपुरलगायत जिल्लामा जाने गरेको छ । 

    सङ्घले आगामी आर्थिक वर्षसम्ममा दैनिक चार लाख लिटर दूध उत्पादन गर्नेगरी योजनाबद्ध रूपमा काम गरिरहेको सङ्घका अध्यक्ष बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि पशु आहार, पशु स्वास्थ्य, पशु पालनमा लागेका युवा लक्षित कार्यक्रम, घाँस वितरण, थुनेलो, बाँझोपन न्यूनीकरणलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।

    अहिले जिल्लाका पशुपालक किसानले रु ४० करोड हाराहारी दूधको भुक्तानी पाउन बाँकी रहेको सङ्घका अध्यक्ष बगालेले बताउनुभयो । पछिल्लो समय दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानीमा सुधार गरेसँगै निजी उद्योगले पनि भुक्तानीलाई सहज बनाउन थालेका छन् । 

    जिल्लामा ११५ दुग्ध उत्पादक सहकारीमार्फत ४० हजार किसानले दूध उत्पादन गरेर बजारमा ल्याउँदै आएका छन् । सङ्घले यस वर्ष जिल्लामा आठ वटा मार्ट खोल्ने योजनासहित कामलाई अघि बढाएको छ । अध्यक्ष बगालेका अनुसार यीसँगै काठमाडौँ र कास्कीको पोखरामा पनि मार्ट सञ्चालन गर्ने योजना छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan