कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
काठमाडौँ, २८ साउनः काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ हरूसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ का आधारमा सम्झौता गरिएको हो ।
स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ । कामपाको शैक्षिक नीति र कार्यक्रमलाई विद्यालयस्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकहरूको पेसागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।
स्रोत शिक्षकले आफ्नो पदाधिकार रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम एक घण्टी कक्षा लिनुपर्नेछ । विद्यालय समयमा इहाजिरीमार्फत उपस्थिति जनाउनुपर्नेछ । स्रोत शिक्षकले तालिमलगायत कार्यक्रममा सहभागी भएर कक्षा लिन नसक्ने भएमा कामपाले सट्टा शिक्षकको व्यवस्था गर्नेछ ।
“सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी बनाउन योजनाबद्ध शिक्षण सिकाइ र बालमैत्री वातावरण बनाउनु पर्छ । हामीलाई यो लक्ष्यमा रोकिने र मोडिने छुट छैन”, विभागीय प्रमुख ढकालले स्रोत शिक्षकसँग अपेक्षा राख्दै भन्नुभयो ।
कामपाले साविकमा भएका ११ वटा स्रोत केन्द्रलाई अहिले नौ वटामा कायम गरिएको छ । शान्ति निकुञ्ज मावि भगवतीबारी, टङ्गाल मावि टङ्गाल, जनप्रभात मावि कालीमाटी, पद्मकन्या मावि डिल्लीबजार, कोटेश्वर सरस्वती मावि कोटेश्वर, पशुपति मित्र मावि चाबहिल, गुह्ेश्वरी मावि सिनामङ्गल, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी र तरुण मावि बालाजु स्रोत केन्द्र हुन् ।
