कास्कीमा बाढीले बगाएको मन्दिरबाट तीन जनाको सकुशल उद्धार (अपडेट)
कास्की । मोदीखोलामा आएको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको रोप रेस्क्यु तथा गोताखोरसहितको सुरक्षा टोलीले नेपाल प्रहरीसँगको संयुक्त प्रयासमा शुक्रबार बिहान ८ः१५ बजे उनीहरूको उद्धार गरेको हो।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा राति आएको बाढीले कास्की र पर्वततर्फ आवतजावतका लागि प्रयोग हुँदै आएका दुईवटा मेटल पुल बगाएको थियो। बाढीले मन्दिरको आधा भागसमेत क्षति पुर्याएपछि त्यहाँ रहेका तीन जना फसेका थिए।
उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत ३० वर्षीय रेवन्त प्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी निर्माण गिरी रहेका छन्।
गिरी भारतीय नागरिक रहेको र उनी विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
बाढीको तीव्र बहाव र जोखिमपूर्ण अवस्थाबीच सुरक्षा टोलीले रोप रेस्क्यु तथा गोताखोरको प्रविधि प्रयोग गर्दै उद्धार अभियान सञ्चालन गरेको थियो। संयुक्त सुरक्षा प्रयासबाट तीनै जनालाई सकुशल बाहिर निकाल्न सफल भएको हो।
घटनापछि सुरक्षाकर्मीले जोखिमयुक्त नदी तथा आसपासका क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरेका छन्।
