२०८२ भाद्र २३ र २४ गतेको घटनाको वास्तविकता बाहिर ल्याउ बालेन सरकार
देवेन्द्र चुडाल, काठमाडौं, ४ भदौ । २०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यलाई टेकेर नै रास्वपा नेतृत्वको बालेन सरकार गठन भएको हो । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यको अनुसन्धान नै भएको छैन ।
किन र कसको नेतृत्वमा त्यस्तो विध्वसात्मक कार्य भयो भनेर तत्कालिन सुशिला कार्की नेतृत्वको सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा छानविन समिति गठन गरेको भएपनि समितिले पूर्ण रुपमा अनुसन्धान नै गरेन भने भाद्र २४ गतेको विध्वसात्मक कार्यको अनुसन्धान गरी कारबाही हुनुपर्ने ठहर कार्की आयोगले गरेको थियो ।
राष्ट्रिय मानवअधिर आयोगले समेत आयोगका सदस्यको लीली थापाको संयोजकत्वमा समिति बनाएको थियो सो समितिले समेत विवादास्पद प्रतिवेदन सरकारलाई बुझाएको भएपनि आजसम्म बालेन सरकारले प्रतिवेदन सार्वजनिक नै गरेको छैन भने कारबाहीको विषय त परै जाओस् ।
विश्वको कुनैपनि लोकतान्त्रिम मुलुकमा नयाँ शक्तिको उदय हुनु र पूराना दलहरुले चुनौतीका सामना गर्नु स्वाभाविक राजनीतिक प्रक्रिया नै हो । तर नेपालको सन्दर्भमा यो प्रक्रिया स्वस्थ प्रक्रियामा होइन कुरुप धु्रवीकरणमा परिणत भएको छ ।
पूराना दलहरुले आफ्ना गल्तीहरु सुधार गरेर कार्यसम्पादन सुधार गर्ने तत्परता देखाउनुपर्नेमा त्यस्तो अवस्था देखिएको छैन भने नयाँ भनिएका दलहरुले समेत आक्रोश र कुण्ठा बोकेर विकल्प बन्न खोज्नु दुवै आत्मघाती बाटामात्र हुनु ।
यदि कुनै चाहे पूराना दलहरु हुन् वा नयाँ दलहरु नै किन नहुन् उनीहरुले व्यक्ति केन्द्रीत राजनीतिलाई लोकप्रियतावादी भाष्य बनाएर त्यसै अनुरुप अगाडि बढ्न खोजेको अवस्थामा तत्कालिन अवस्थामै उनीहरु सिमिति हुन पुग्दछन् ।
गत फागुन २१ गते सम्पन्न भएको संघीय संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत पाएको रास्वपाले आफ्नो नेतृत्वमा २०८२ चैत्र १३ गते बालेन साहको नेतृत्वमा सरकार गठन गरेको थियो ।
२०८२ भाद २३ र २४ गते भएको दुःखद घटनामा संलग्न रहेकाहरु प्राय सबै रास्वपामा प्रवेश गरेका र उनीहरुले पूराना दलहरुले भ्रष्टाचार बढाएको डेलिभरी दिन नसकेको अनि भाद्र २३ गतेको विरोध प्रदर्शनमा गोली चलाएर विद्यार्थीहरुको हत्या गरेको आरोप तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई लगाएर जनताको मत लिन सफल भएका थिए ।
२०८२ भाद्र २३ र २४ गतेको घटनाकै कारण नयाँ भनिएका तर पुरानै दल रास्वपाले भाद्र २३ र २४ गतेको घटनालाई जनताको नजरमा पूराना भनिएका दलहरुकै कारण भएको भाष्य बनाउन सकेको हुनाले मात्र रास्वपाले झण्डै दुई तिहाई मत पाएको हो ।
बालेन सरकार गठन भएको ५ महिना पुग्न लागेको छ । यसबीचमा पनि बालेन सरकारले जनतामाथि गोली चलाएको छ । गत श्रावणमा सुनसरी लगायतका मधेश प्रदेशका जिल्ला सुरक्षाकर्मी गोली लागेर ४ जनाको निधन भएको छ तर बालेन सरकारले त्यसको जिम्मेवारी लिएको छैन ।
२०८२ भाद्र २३ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गोली चलाएर जनता मारेको आरोप लगाउने रास्वपाले आफ्नो नेतृत्वको सरकारले समेत गोली चलाएर जनता मारेको विषयमा मौन रहनुको अर्थ के ?
के रास्वपाले सत्ता हत्याउनकै लागि मात्र तत्कालिन ओली सरकारमाथि गोली चलाएको आरोप लगाएको थियो भने आफ्नो नेतृत्वको सरकारले समेत गोली चलाएर जनता मार्दा किन सरकारमाथि जनताको हत्या गरेको आरोप लगाउन चाहेन त ? अब त्यसको उत्तर रास्वपा नेतृत्वले जनतालाई दिनुपर्दछ ।
अहिलेको अवस्था भनेको पुरानो राजनीतिको संस्कृतिलाई प्रतिस्थापना होइन केबल नयाँ अनुहारमा भई रहेको पुरानै प्रवृत्ति मात्र हो । त्यसैले वास्तविक विकल्पको मापन दल कति पुराना र नयाँ छन् भन्ने आधारमा होइन उसले राजनीतिमा कति नयाँ विचार दिन सक्छ, नयाँ संस्कार र नयाँ कार्य सम्पादन स्थापित गर्न सक्छ भन्ने आधारमा मापन गरिनु उपर्युक्त हुनेछ ।
पुराना र नयाँ दुवै दलहरुलाई चेत होस् भिडले क्षणिक रुपमा ताली र हुटिङ त दिन सक्छ तर मुलुक चलाउन परिपक्क नीति, दुरदर्शिता र विधिको शासन व्यवस्था नै चाहिन्छ ।
डिजिटल स्पेसमा जारी विचार शुन्य, हिलो छ्यापाछ्यापले कसैलाई पनि सखाप बनाउन सक्छ । त्यसैले सम्वादको राजनीतिलाई गोलीको संस्कृत्तिबाट मुक्त गरी पुर्नविचार, एजेण्डा र डेलिभरीको धरातलमा फर्किनु आजको आवश्यकता हो ।
प्रधानमन्त्रीले आफ्नो फेसबुकमा लेख्ने गरेर, गाली गलौज गरेर ताली त बज्ला तर त्यसले देशको राजनीतिलाई अगाडि बढाउन सक्ने सम्भावना नै देखिँदैन ।
त्यसैले राजनीतिक रुपमा प्रधानमन्त्री बालेन नै सच्चिएर सबै दलको सहयोग र समर्थनमा अघि बढेमात्र बालेन सरकारको भविष्य सुरक्षित हुन सक्छ । अहिलकै अवस्थामा बालेन सरकारको भविष्य अधिकार रहेको जस्तो देखिन्छ ।
