Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आचार्यको ह्याट्रिकदेखि ‘सेटिङ’को चर्चासम्म : बदलियो सत्ता, बदलिएन राजनीतिक संस्कार?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
newsabhiyan

काठमाडौं । सत्ता फेरिए पनि राजनीतिको चस्मा फेरिएन भने दृश्य उही देखिन्छ—पात्र फेरिन्छन्, कुर्सी फेरिन्छ, तर प्रवृत्तिको अनुहार उस्तै रहन्छ ।

अहिले कोशी प्रदेशमा नेकपा र एमालेबीचको सहकार्यमा बनेको सरकारमा मन्त्री चयनको विषयले यस्तै पुरानो राजनीतिक संस्कारमाथि नयाँ बहस जन्माएको छ ।

विशेषगरी जीवन आचार्यको मन्त्री पदमा पुनरावृत्तिलाई लिएर नेकपाभित्र र बाहिर प्रश्न उठ्न थालेका छन् । आचार्य पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् ।

त्यसैले उनको नियुक्तिलाई कतिपयले सामान्य राजनीतिक निर्णयभन्दा बाहिर निकालेर ‘परिवार र पहुँचको राजनीति’सँग जोडेर हेर्न थालेका छन् ।

‘ह्याट्रिक’ गरेको भन्दै आचार्यको नियुक्तिमाथि टिप्पणी गर्नेहरू प्रश्न गर्छन्—राजनीतिक परिवर्तनको लामो यात्रा गरेका, आन्दोलन र संघर्षमा जेलनेल भोगेका तथा जनताबीच वर्षौँदेखि संगठन निर्माणमा खटिएका कार्यकर्ताको पालो कहिले आउँछ?

यही प्रश्न अहिले पूर्वमाओवादी वृत्तमा पनि सुनिन थालेको छ । हिजो परिवर्तनका लागि जंगल पसेका, सडकमा उत्रिएका र जेलका ढोका देखेका कार्यकर्ता आज राजनीतिको मूलधारमा अवसर खोज्दै गर्दा नेतृत्वको वरिपरि परिवार र पहुँचको घेरा बाक्लिँदै गएको हो कि भन्ने असन्तुष्टि बढेको बताइन्छ ।

एक पूर्वमाओवादी नेताले कटाक्ष गर्दै भनेका छन्, “प्रचण्ड कहिले सुध्रिन्छन्? फेरि शक्तिमा आए भने गंगा दाहालले के गर्ने रहिछिन्, अहिले नै देखियो ।” उनको यो टिप्पणी व्यक्तिगत आक्रोश मात्र हो कि पार्टीभित्र गहिरिँदो असन्तुष्टिको प्रतिनिधि आवाज हो भन्ने बहस पनि सुरु भएको छ ।

तर प्रश्न जीवन आचार्य मन्त्री बने कि बनेनन् भन्नेमा मात्र सीमित छैन । असली प्रश्न हो—नेकपाले नयाँ राजनीतिक संस्कारको घोषणा गरिरहँदा निर्णय प्रक्रियामा पुरानै नातागोता, पहुँच र शक्ति केन्द्रको छायाँ किन देखिन्छ?

जनजी आन्दोलनपछि पनि पुरानै कथा?

जेनजी आन्दोलनले दलहरूलाई दिएको सन्देश स्पष्ट थियो—पुरानो शैली बदल, नेतृत्वको व्यवहार बदल र जनताको प्रश्नको जवाफ देऊ । तर आन्दोलनपछि पनि यदि राजनीतिक नियुक्ति र अवसर वितरणमा पहुँच, पारिवारिक सम्बन्ध र गुटगत समीकरण निर्णायक बन्न थाले भने परिवर्तनको नारामाथि नै प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।

जनताले ‘नयाँ बोतलमा पुरानो रक्सी’ खोजेका होइनन् । उनीहरूलाई परिणाम चाहिएको छ, जवाफदेहिता चाहिएको छ र अवसरको समान ढोका चाहिएको छ ।

राजनीतिमा नातासम्बन्ध हुनु अपराध होइन । कुनै नेताको परिवारमा जन्मिनु वा विवाह हुनु पनि कसैको दोष होइन । तर जब राजनीतिक अवसरको ढोका खोल्ने चाबीसमेत पारिवारिक सम्बन्धसँग जोडिएको देखिन्छ, त्यतिबेला प्रश्न उठ्छ,योग्यता ठूलो कि पहुँच? संघर्ष ठूलो कि सम्बन्ध?

यही प्रश्नको जवाफ नेकपाले दिनुपर्ने अवस्था आएको छ ।

चार मन्त्री, तर बहस अनेक

कोशीमा एमालेसँग सहकार्य गरेर सरकार निर्माण गर्ने नेकपाको रणनीतिले प्रदेश राजनीतिमा नयाँ समीकरणको संकेत गरेको छ । तर सरकारमा सहभागी चार मन्त्रीका नाम सार्वजनिक भएसँगै पार्टीभित्र अवसर वितरण, शक्ति सन्तुलन र नेतृत्वको निर्णय प्रक्रियामाथि बहस सुरु भएको छ ।

सरकार बनाउनु गणितको खेल हो । तर सरकार टिकाउनु राजनीतिक विश्वासको खेल हो । बहुमतको अंक जोडेर सरकार बनाउन सकिन्छ, तर जनताको विश्वासको अंक जोड्न सकिँदैन । त्यसका लागि पारदर्शिता, क्षमता र राजनीतिक नैतिकता चाहिन्छ । यही ठाउँमा नेकपाको अग्निपरीक्षा सुरु भएको देखिन्छ ।

उता बालेन सरकार, यता ‘सेटिङ’को चर्चा

संघीय राजनीतिमा पनि परिस्थिति कम रोचक छैन । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई लिएर सत्ता वृत्तमा ‘सेटिङ’ र प्रभावशाली समूहहरूको चलखेलबारे विभिन्न चर्चा चलिरहेका छन् ।

विशेषगरी राजेश बज्राचार्य समूहसँग जोडिएका विषयमा ‘सेटिङबाट उन्मुक्ति हुने’ भन्ने चर्चा राजनीतिक वृत्तमा सुनिन थालेको छ ।

त्यस्तै गंगा दाहालसमेतले कुनै पक्षसँग ‘लाइन मिलाएको’ भन्ने हल्ला चलेको दाबी पनि विभिन्न वृत्तमा गरिएको छ । तर यस्ता दाबीको स्वतन्त्र पुष्टि नभएकाले तिनलाई प्रमाणित तथ्यका रूपमा लिन मिल्दैन ।

यही कारण सरकारको वास्तविक चुनौती केवल विरोधी दल होइनन् । सरकारभित्रै निर्णय प्रक्रिया कति पारदर्शी छ, नियुक्ति र अनुसन्धानमा राजनीतिक प्रभाव कति छ, र कानुनी प्रक्रियामा सबैलाई समान व्यवहार हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्छ भने ‘सेटिङ’ भन्ने शब्दसमेत जनताको कानमा पुग्न नदिने गरी काम गर्नुपर्छ । किनभने धुवाँ उठेको ठाउँमा आगो छ कि छैन भनेर हेर्नु सरकारको दायित्व हो; धुवाँलाई हावाको हल्ला भन्दै आँखा चिम्लिनु समाधान होइन ।

प्रचण्डको राजनीति : परिवार कि पार्टी?

प्रचण्ड नेपाली राजनीतिका प्रभावशाली पात्र हुन् । युद्धदेखि शान्ति प्रक्रिया, गणतन्त्रदेखि सत्ताको अनेक मोडसम्म उनको राजनीतिक यात्रा लामो छ । तर लामो राजनीतिक यात्रासँगै उनको नेतृत्वमाथि परिवारवाद र निकट व्यक्तिलाई अवसर दिएको आरोप पनि समय–समयमा उठ्दै आएको छ ।

अब प्रश्न व्यक्तिगत रूपमा प्रचण्डलाई घेरिएको मात्र होइन । प्रश्न नेकपाको संस्थागत चरित्रको हो ।

यदि पार्टी एउटा व्यक्तिको वरिपरि घुम्छ भने संगठन कमजोर हुन्छ । यदि संगठन केही परिवार र गुटको वरिपरि घुम्छ भने कार्यकर्ता निराश हुन्छन् । अनि कार्यकर्ता निराश भएपछि जनताको भरोसा पनि बिस्तारै खस्किन्छ ।

राजनीतिक पार्टी कुनै परिवारको निजी कम्पनी होइन । कार्यकर्ता शेयरधनी होइनन्, जसले लाभांशको पालो कुर्नुपरोस् । पार्टी जनताको विश्वासको सार्वजनिक संस्था हो ।

त्यसैले नेतृत्वले अवसर बाँड्दा पनि सार्वजनिक मापदण्ड बनाउनुपर्ने बेला आएको छ ।

अब प्रश्न आचार्य होइन, आचारसंहिताको हो

जीवन आचार्यको नियुक्ति एउटा व्यक्तिको नियुक्ति मात्र हो भनेर पन्छिन सकिन्छ । तर यसले उठाएको प्रश्नलाई पन्छाउन सकिँदैन ।

राजनीतिमा नयाँ पुस्ता आयो भनेर मात्र नयाँ राजनीति आउँदैन । अनुहार नयाँ भएर व्यवहार पुरानै भयो भने त्यो परिवर्तन होइन, केवल आवरण परिवर्तन हो ।

जनजी आन्दोलनपछि जनताले दलहरूलाई दिएको चेतावनी यही हो—कुर्सी बदल्नुभन्दा पहिले संस्कार बदल ।

अब नेकपाले प्रमाणित गर्नुपर्नेछ कि उसको राजनीति व्यक्ति केन्द्रित होइन, संस्था केन्द्रित छ । अवसर पहुँचका आधारमा होइन, योग्यता र योगदानका आधारमा वितरण हुन्छ । र सरकारमा हुने कुनै पनि अनियमितता वा ‘सेटिङ’को चर्चामाथि पर्दा हाल्ने होइन, तथ्य र कानुनका आधारमा छानबिन गर्ने साहस सरकारसँग छ ।

नत्र इतिहासले फेरि उही प्रश्न दोहोर्याउनेछ, जनताको नाममा राजनीति गर्नेहरू सत्तामा पुगेपछि आखिर जनता कहाँ पुग्छन्? र अर्को प्रश्न अझ पेचिलो हुनेछ,जंगलबाट सिंहदरबारसम्म ल्याएको परिवर्तनको फल केही सीमित परिवार र पहुँचवालाले मात्रै चाख्ने हो भने बाँकी जनताको भागमा फेरि के आउँछ—नारा, आश्वासन कि अर्को आन्दोलन?

कोशीमा नेकपाका चार मन्त्री : प्रचण्डका ज्वाइँलाई भौतिक पूर्वाधार, पूर्वमाओवादी वृत्तमा असन्तुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan