‘माथिसम्म पहुँच छ’ भन्दै थुनुवाका आफन्तलाई जालमा पार्ने घले १ लाख धरौटीमा छुटे
काठमाडौं, ४ भदौ । ‘ठूला मान्छेसँग मेरो सीधा पहुँच छ’, ‘माथिसम्म कुरा पुर्याइदिन सक्छु’, ‘मुद्दा मिलाइदिन्छु’ भन्दै थुनुवाका आफन्तलाई प्रभावमा पार्ने आरोपमा पक्राउ परेका जितबहादुर घले बुधबार १ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय घलेलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। उनीमाथि कारागारमा रहेका थुनुवा तथा उनीहरूका आफन्तको कमजोर मनोवैज्ञानिक अवस्था र आफन्त छुट्ने आशालाई आफ्नो प्रभाव जमाउने माध्यम बनाएको आरोप छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घलेले आफू उच्च पदस्थ अधिकारी, राजनीतिक नेतृत्व तथा प्रभावशाली व्यक्तिहरूसँग निकट रहेको दाबी गर्दै थुनुवाका आफन्तलाई विश्वासमा पार्ने प्रयास गरेको प्रहरीको भनाइ छ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि गृहमन्त्री सुधन गुरुङसम्म आफ्नो पहुँच रहेको ‘हावा’ देखाउने गरेको बताइएको छ। आफूले चाहेमा ‘माथिसम्म कुरा पुर्याउन’ र मुद्दा ‘मिलाउन’ सक्ने दाबी गर्दै उनले पीडित परिवारलाई प्रभावित पार्ने गरेको आरोप छ।
‘पहुँच’को पासोमा थुनुवाका परिवार
आफन्त जेलमा परेपछि परिवारमा स्वाभाविक रूपमा मुद्दाको परिणाम र रिहाइको चिन्ता हुन्छ। यही मनोवैज्ञानिक दबाबलाई घलेले आफ्नो प्रभाव विस्तार गर्ने माध्यम बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
थुनुवाका आफन्तसँग भेटघाट गर्ने, आफू प्रभावशाली व्यक्तिसँग निकट रहेको बताउने र सम्बन्धित निकायमा ‘कुरा मिलाउन सक्ने’ आश्वासन दिने गरेको आरोप उनीमाथि छ।
तर कानुनी प्रक्रिया व्यक्ति विशेषको ‘पहुँच’ वा प्रभावबाट होइन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियाबाट अघि बढ्छ। यस्तो अवस्थामा ‘माथिसम्म पहुँच छ’ भन्दै मुद्दा प्रभावित पार्न सकिने भ्रम सिर्जना गर्नु आफैंमा गम्भीर विषय हो।
अब अनुसन्धानको केन्द्रमा ‘कति पहुँच’ होइन, ‘कति जालो’ ?
घले पक्राउ परेपछि प्रहरी अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ—उनले दाबी गरेजस्तो उच्च पदस्थ व्यक्तिहरूसँग साँच्चिकै पहुँच थियो वा उनीहरूको नाम र पदलाई केवल विश्वास जित्ने हतियारका रूपमा प्रयोग गरिरहेका थिए ?
प्रहरीले घलेको सम्पर्कमा आएका व्यक्तिहरू, फोन सम्पर्क, भेटघाट, थुनुवाका आफन्तलाई दिएका आश्वासन तथा त्यसक्रममा आर्थिक लेनदेन भए–नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
घले बुधबार १ लाख रुपैयाँ धरौटीमा छुटे पनि प्रकरणमाथिको प्रश्न भने त्यत्तिमै सकिँदैन।
उनले कति जनालाई ‘माथिसम्म पहुँच’को कथा सुनाए ? कति परिवारबाट विश्वास जिते ? पैसा असुले वा असुल्ने तयारीमा थिए ? र, उनले नाम लिएका उच्च पदस्थ व्यक्तिहरूसँग वास्तवमै कुनै सम्पर्क थियो कि थिएन ? यी प्रश्नको जवाफ अनुसन्धानले खोज्नुपर्ने देखिन्छ।
किनकि विषय केवल जितबहादुर घलेको ‘पहुँच’ कति थियो भन्ने होइन। ‘पहुँच बेचेर न्याय मिलाइदिने’ भन्दै थुनुवाका परिवारको पीडा र आशामाथि व्यापार गर्ने प्रवृत्तिको पछाडि अरू कोही छन् कि छैनन् भन्ने प्रश्न अझ गम्भीर छ।
यदि घलेको गतिविधि कुनै ठूलो सञ्जालसँग जोडिएको पुष्टि भयो भने यो प्रकरण एउटा व्यक्तिको पक्राउ र धरौटीमा सीमित रहने छैन; यसले न्यायको नाममा पहुँचको दलाली गर्ने सम्भावित गिरोहसम्म अनुसन्धान पुर्याउनुपर्ने अवस्था सिर्जना गर्नेछ।
यो पनि पढ्नुहोस् :
बेन–बज्राचार्य ‘साठगाँठ’को चर्चाले ततायो दमक, अख्तियारमाथि दबाबको आरोप
