Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

काठमाडौँ, ४ भदौः स्थानीय तहले विधिभित्र रहेर काम गर्न चनाखो रहे पनि सङ्घीय संसद्बाट समयमै आवश्यक मार्गदर्शन र अभिभावकत्व प्राप्त हुन नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घले गुनासो गरेको छ ।
     
    राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा विधायिकी अन्तरसम्बन्धबारे धारणा राख्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहले काम गर्ने ढङ्ग पुर्‍याएन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

    तीन तहको सरकार बनेपछि सङ्घीय संसद्बाट स्थानीय तहलाई समयमै स्पष्ट मार्गदर्शन प्राप्त हुने अपेक्षा भए पनि सुरुआती चरणमा स्थानीय तहले सिक्दै र गर्दै अघि बढ्नुपरेको उहाँको भनाइ छ । उहाँले स्थानीय तहलाई सुधारका लागि अभिभावकत्व र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

    महासङ्घका अनुसार सुरुआती चरणमा सङ्घीय संसद्को अभ्यास सिकेर त्यसलाई स्थानीय तहमा लागू गर्ने प्रयास गरिए पनि ७५३ वटै स्थानीय तहमा संसदीय अभ्यास लैजान कठिन भएको जनाएको छ ।
     
    “तीन तहको सरकार बनेपछि सङ्घीय संसद्बाट समयमै एउटा मार्गदर्शन प्राप्त हुन्छ भन्ने हाम्रो अपेक्षा थियो । तर सुरुआती चरणमा हामीले धेरै विषय सोधेर, सिकेर अघि बढ्नुपर्‍यो”, उहाँले भन्नुभयो, “हामीले संसदीय अभ्यासलाई स्थानीय तहमा लैजान धेरै मेहनत गर्‍यौँ, सुरुमा त्यही अभ्यासलाई नक्कल पनि गर्‍यौँ । तर समग्र ७५३ स्थानीय तहमा संसदीय अभ्यास लैजान कठिन भयो ।”
     
    अध्यक्ष पाण्डेले कार्यपालिकाको प्रत्यक्ष छायाँमा सभा परेको तथा सभामा विधेयक पेस, छलफल  र पारित गर्ने प्रक्रियामा अझै अलमल रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान कार्यान्वयन र तीन तहका सरकारबीचको सम्बन्ध बलियो बनाउन विधायिकी अन्तरसम्बन्धमा सुधारको आवश्यकता औँल्याउनुभयो । स्थानीय तह क्रमशः विधायिकी अभ्यासमा अभ्यस्त हुँदै गए पनि गैरविधायिकी कार्य खासै हुन नसकेको उहाँको भनाइ छ ।

    महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय सरकार सेवा प्रवाहमा अब्बल भए पनि स्थानीय शासन प्रणालीको प्रवर्द्धनमा कमजोर रहेको बताउनुभयो । केन्द्रमा रहेको ज्ञान र सीप प्रदेशसम्म हस्तान्तरण भए पनि स्थानीय तहसम्म पुग्न नसकेको उहाँले गुनासो गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan