धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा संलग्न चार जना पक्राउ
काठमाडौं, १० भदौ : धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, ललितपुर साबिक ललितपुर उपमहानगरपालिका-२ बस्ने क्रेष्ट माईक्रो लाईफ ईन्स्योरेन्स लिमिटेडका संचालक ४१ वर्षीया सुनिता महर्जन, काठमाडौं महानगरपालिका-१६ बस्ने नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका संचालक सदस्य ४५ वर्षीय अनुप मालाकार र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-८ घर भएका नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका संचालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ मध्ये सुभाष धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनमा, सुनिता महर्जन धितोपत्र सम्बन्धी ऐन तथा अनुप र सुनिता श्रेष्ठ बीमा ऐन सम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
